ताजा समाचार

बालविवाहमुक्त डोल्पाकाे लक्ष्य—साझा अभियानबारे पत्रकारसँग बहस

विष्णुप्रसाद देवकोटा

डोल्पा । बालविवाह उन्मूलनलाई लक्षित गर्दै डोल्पामा सञ्चालन भइरहेका साझा अभियानका कार्यक्रम तथा उपलब्धिकाे बारेमा सञ्चारकर्मीहरूसँग आइतबार सदरमुकाम दुनैमा विस्तृत छलफल भएको छ।

गैरसरकारी महासंघ कर्णाली प्रदेशका सचिव तथा साझा अभियान डोल्पाका संयोजक रणबहादुर कार्कीले जिल्लामा बालविवाह नियन्त्रणका लागि भइरहेका गतिविधि, चुनौती र अबको कार्ययोजनाबारे विस्तृत ब्रिफिङ दिए।

उनका अनुसार ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका तथा जगदुल्ला गाउँपालिकामा विद्यालयस्तरबाट समुदायसम्म विभिन्न सचेतनामूलक कार्यक्रम, वडास्तरका अभिमुखीकरण, अभिभावक समूह–माध्यमिक संवाद र स्थानीय सरकारसँगको नीतिगत समन्वय निरन्तर सञ्चालन भइरहेको छ।

कार्कीले भने, “बालविवाहमुक्त वडा तथा पालिका घोषणा गर्न सञ्चारमाध्यमको भूमिकालाई विकल्पमै राख्न सकिन्न। स्थानीय तथ्य, कथा र आवाजलाई निरन्तर सार्वजनिक गर्दै अभियानलाई समुदाय–मुखी बनाउनु अत्यावश्यक छ।”

छलफलमा सहभागी पत्रकारहरूले बालविवाहजस्तो गम्भीर सामाजिक समस्या अन्त्यका लागि सूचना–सञ्चार क्षेत्र अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जनाए।

उनीहरूले बालविवाहलाई साधारण परम्परा नभई कानुन उल्लंघन र भविष्य नष्ट पार्ने दुरुपयोगका रूपमा बुझ्दै, तथ्य र प्रमाणमा आधारित रिपोर्टिङलाई अझ सशक्त बनाउने धारणा राखे।

सहभागीहरूले सम्पूर्ण सरोकारवाला संस्थाको साझा प्रयास बिना बालविवाह अन्त्य चुनौतीपूर्ण हुने भएकाले, समुदाय, स्थानीय सरकार, विद्यालय र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिए।

राष्ट्रिय जनगणना २०७८ ले डोल्पामा बालविवाह दर ६१.८७ प्रतिशत रहेको उल्लेख गर्छ, जसले यहाँकाे सामाजिक वास्तविकता र हस्तक्षेपकाे आवश्यकता अझ स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया