डाेल्पान्युज डेक्स
डोल्पामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर को कारोबारमा स्थानीय यातायात व्यवसायमा संलग्न व्यक्तिहरू नै सक्रिय रहेकाे खुलेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रारम्भिक अनुसन्धानले प्रतिबन्धित पदार्थको ओसार–पसारदेखि वितरणसम्मका गतिविधि यातायात पेशामै संलग्न व्यक्तिहरूमार्फत सञ्चालन हुँदै आएको संकेत गरेको हो।
मंसिर १ गते त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बगर बजारबाट प्रहरीले १६ पुरिया ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेपछि यो जालो पहिलोपटक यसरी सतहमा आएकाे हो।
प्रहरीको ‘विशेष निरीक्षण’
जिल्लामा पहिलो पटक ब्राउन सुगरसहित यति धेरै व्यक्ति पक्राउ परेको बताउँदै डोल्पा प्रहरीका डिएसपी रुकबहादुर खड्काले भने“पक्राउ परेका मध्ये अधिकांश प्रयोगकर्ता देखिन्छन्, तर ओसार–पसारमा यातायात व्यवसायमै संलग्न समूहको भूमिका प्रमुख रहेकाले अब अनुसन्धान अझै विस्तृत हुँदै छ।”
उनका अनुसार विशेष सूचनाका आधारमा लामो समयदेखि अनुगमन गरिआएको थियो। “म आफैं सुरु देखिनै यो मामिलामा सक्रिय थिएँ। यसलाई जरा–सैथानै नियन्त्रण गर्न विस्तृत अनुसन्धान भइरहेको छ,” उनले थपे।
लागुऔषधको मार्ग : नेपालगञ्ज–सुर्खेत हुँदै डोल्पासम्म
प्रारम्भिक अनुसन्धानले ब्राउन सुगर नेपालगञ्ज र सुर्खेत हुँदै डोल्पा भित्रिने गरेको पुष्टि गरेको प्रहरीको दाबी छ। पक्राउ परेकाहरू प्रारम्भिक चरणका प्रयोगकर्ता मात्र भएको देखिए पनि, उनीहरूलाई प्रयोग गर्ने ठूला आपूर्तिकर्ता पहिचान गर्न प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
अझै अन्य संलग्न व्यक्तिहरू पक्राउ पर्ने सम्भावना
प्रहरीका अनुसार यो जालो यहाँमै रोकिँदैन। अझै अन्य संलग्न व्यक्ति पक्राउ पर्न सक्ने भएकाे र घटनामा दुई प्रकारको मुद्दा दर्ता गरी कारबाही अघि बढाइने बताइएको छ। ब्राउन सुगर आपूर्ति तथा प्रयोगकर्ता दुवैमा कडा सजायको प्रावधान भएकाले सात दिनको म्याद थप गरी अनुसन्धान चर्काइएको छ।
पक्राउ परेकाहरूको विवरण उनिहरुमाथि अनुसन्धान जारी ।
डोल्पा निवासी — ४ जना
मोहन सार्की (१८), त्रिपुरासुन्दरी–१
रबिन्द्र सार्की (२२), त्रिपुरासुन्दरी–१
अपार गुरुङ (३२), ठुलोभेरी–३
राजेशराज रोकाया (२३), ठुलोभेरी–१
डोल्पाबाहिरका — २ जना
हरि विक (२६), बिरेन्द्रनगर–१, सुर्खेत
तिलक बिक (१८), आठबिसकोट–७, रुकुम पश्चिम
प्रहरीका अनुसार घटनाको पूर्ण रूपमै पर्दाफास गर्न थप प्रमाण संकलन तथा संलग्न समूहको संरचना पहिचान गर्ने कार्य जारी छ।

डोल्पा न्यूज । ९ मंसिर २०८२, मंगलवार १८:३६