ताजा समाचार

डाेल्पामा सशस्त्र प्रहरी दिवस:धारा निर्माणदेखि न्यानो सामग्री वितरण

विष्णुप्रसाद देवकोटा

डोल्पा । डोल्पाको सदरमुकाम दुनै बजारस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म हेडक्वाटरले २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ को अवसर पारेर सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म, दुनै डोल्पाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक राज भट्टको नेतृत्वमा स्थानीय निकाय तथा लाभग्राहीहरूसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गरिएको हो। यस क्रममा ठुलीभेरी नगरपालिका–३, दुनैमा सर्वसाधारणको सहज पहुँचका लागि खानेपानीको एक पक्की सार्वजनिक धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ।

यस्तै, सशस्त्र प्रहरी दिवसकै अवसरमा ठुलीभेरी नगरपालिका–३ भित्र बसोबास गर्ने विपन्न तथा बोल्न नसक्ने ५ घरधुरी परिवारलाई एक–एक थान फाइबर सिरक र डसना वितरण गरिएको छ। हिउँदको कठ्याङ्ग्रिने जाडोमा न्यानो सामग्री प्राप्त भएपछि लाभग्राही परिवारहरू खुशी भएका छन्।

सामाजिक सद्भाव र मनोबल अभिवृद्धिलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बलले जिल्ला कारागार डोल्पामा रहेका २७ जना कैदीबन्दीहरूको मनोरञ्जन प्रयोजनका लागि खेलकुद सामग्रीसमेत प्रदान गरेको छ। कारागारलाई दुई थान भलिबल र एक थान भलिबल नेट हस्तान्तरण गरिएको गुल्मले जनाएको छ।

शान्ति–सुरक्षासँगै सामाजिक सेवामा देखाएको सक्रियताले सशस्त्र प्रहरी र समुदायबीचको सम्बन्ध अझ सुदृढ भएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ आगामी माघ ९ गते विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

तपाईको प्रतिक्रिया