नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भेला हुने भएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार काठमाडौँमा उपस्थित रहने नेताहरूको सहभागितामा बैठक आयोजना गर्न लागिएको हो।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो। यद्यपि, निर्वाचित भएपछि थापाले प्रारम्भिक दुई बैठक तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी संसदीय बोर्डको बैठक होटेलमै आयोजना गरेका थिए। यसअघिसम्म नयाँ नेतृत्व औपचारिक रूपमा केन्द्रीय कार्यालय पुगेको थिएन।निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असहमति जनाएको थियो। यद्यपि, देउवा समूहका नेताहरूले औपचारिक रूपमा आपत्ति जनाए पनि थापाकै हस्ताक्षर भएको टिकटमार्फत उम्मेदवारी दर्ता गराएका छन्।
यसैबीच, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तर, सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिसकेको छ।

डोल्पा न्यूज । ८ माघ २०८२, बिहीबार १५:१९