डोल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक तयारीका रूपमा डोल्पाको सदरमुकाम दुनै बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
शुक्रबार जिल्ला अदालत डोल्पाको भवनमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारती र प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गर्न कार्यालय स्थापना गरिएको हो।
सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै जिल्ला अदालतको भवनमै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको न्यायाधीश भारतीले जानकारी दिए। उनका अनुसार निर्वाचन जनताद्वारा जनताका लागि प्रतिनिधि छान्ने लोकतान्त्रिक उत्सव भएकाले यसलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ।
मुख्य निर्वाचन अधिकृत भारतीले शान्त, भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय, प्रशासन तथा सरोकारवाला सबै तहका जिम्मेवार निकायलाई आ–आफ्नो भूमिकामा जिम्मेवार बन्न आग्रह गरे।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।फागुन २१ गते हुने निर्वाचनमा २४ हजार १ सय १५ जना मतदाताले मतदानमा भाग लिने छन ।

डोल्पा न्यूज । २ माघ २०८२, शुक्रबार २१:२२