विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्ला प्रहरी कार्यालय, डोल्पाले २०८२ पुस महिना भरकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सवारी व्यवस्थापन तथा नागरिक सेवा प्रवाहका क्षेत्रमा व्यापक र प्रभावकारी काम गरेको प्रहरीले सार्वजनिक गरेकाे प्रगति प्रतिवेदनमा उल्लेख छ। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा गम्भीर अपराध, बैंकिङ कसुर र सवारी ज्यानसम्बन्धी गरी ४ वटा मुद्दा दर्ता भएका छन् भने ती मुद्दामा ७ जना प्रतिवादी रहेका छन्।
फैसला कार्यान्वयनको क्रममा १ जनालाई पक्राउ गरी ६८ हजार ५७१ रुपैयाँ बिगो असुल गर्दै पीडितलाई क्षतिपूर्ति दिलाइएको छ। यस्तै, हराएका व्यक्तिसम्बन्धी ३ वटा निवेदन दर्ता भएकोमा अघिल्लो महिनासहित ६ जना फेला पारिएको प्रहरीले जनाएको छ। प्रत्यक्ष रूपमा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त ८ वटा उजुरीमध्ये ४ वटा फर्छ्यौट गरिएको छ।
पुस महिनामा जिल्लामा ५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५ वटा सवारी साधन संलग्न रहेका छन् भने १० जनाको मृत्यु तथा घाइते भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। दुर्घटनापछि प्रहरीले तत्काल उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। सवारी नियम उल्लंघन गर्ने ७२ वटा सवारी साधनमाथि कारबाही गरी ५५ हजार रुपैयाँ राजस्व संकलन गरिएको सुचना अधिकारी टाेपेन्द्र बुढामगरले जनाएका छन।
विपद् व्यवस्थापनतर्फ सामुदायिक वन क्षेत्रमा १ वटा आगलागीको घटना भएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति नभएको र उद्धार तथा नियन्त्रणका लागि १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
समुदाय र विद्यालय केन्द्रित गतिविधिमा प्रहरीको उपस्थिति उल्लेखनीय देखिएको छ। महिनाभरिमा ५० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ जसमा १०६ जना नागरिक सहभागी भएका छन्। विद्यालयस्तरमा गरिएको सचेतनामूलक कार्यक्रममा पनि १०६ जना विद्यार्थी सहभागी भएका थिए। नागरिकता, राहदानी नवीकरण तथा अन्य प्रशासनिक कामका लागि २ वटा सिफारिस गरिएको छ भने प्रहरी हटलाइन र डिउटी सम्पर्क नम्बरमा १७ वटा फोन कल प्राप्त भएका छन्।
नागरिक सहायता कक्षमार्फत ५८२ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको प्रहरीले सुचना अधिकारी बुढामगरले जनाए। अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नियमित र विशेष गस्तीलाई तीव्र बनाइएको छ। एक महिनामा LRP १३ पटक, SRP १५६ पटक, पिकेट ५७२ पटक, चेकिङ ३७५ पटक र ग्रामीण गस्ती ४३७ पटक सञ्चालन गरिएको छ। बन्द, चक्काजाम, आन्दोलन, मेला तथा जुलुस जस्ता विशेष परिस्थितिमा १० जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो।
प्रहरी कर्मचारीको मनोबल अभिवृद्धिका लागि नेचर वाक, खेलकुद गतिविधि, सामूहिक वनभोज तथा विविध मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको छ। यसैगरी मेन गेटमा सिटिङ निर्माण, प्रहरी स्मारिकासँग जोडिएको पदचिह्न निर्माण तथा शौचालय निर्माण जस्ता नवप्रवर्तनात्मक तथा रचनात्मक कार्यसमेत सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा पनि शान्ति सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने र नागरिकमैत्री सेवा प्रवाहलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

डोल्पा न्यूज । २ माघ २०८२, शुक्रबार १९:५६