दुनै–लासिक्याप हुँदै सिसोल खण्डसम्मको सडक ट्र्याक यथाशीघ्र खोल्न तथा निर्माण कार्य अघि बढाउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डाेल्पाले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष डोल्पा जिल्लाका जनप्रतिनिधि तथा नेताहरूको प्रतिनिधिमण्डलले बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएकाे हो ।
डोल्पा जिल्लाका पूर्व शहरी विकास मन्त्री तथा नेकपाका नेता धनबहादुर बुढाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले लासिक्याप–सिसोल खण्डको करिब ३३ किलोमिटर सडक ट्र्याक हालसम्म नखुलेका कारण माथिल्लो भोट क्षेत्रका नागरिकहरू गम्भीर रूपमा प्रभावित भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
उक्त सडक खण्ड भौगोलिक रूपमा अत्यन्तै अप्ठ्यारो, भिरालो र कडा चट्टानी संरचना रहेको उल्लेख गर्दै सामान्य प्रविधिबाट ट्र्याक खोल्न कठिन भएकाले नेपाली सेनालाई जिम्मा दिई काम अघि बढाउनुपर्ने माग गरिएको छ ।
सेनाबाट काम गराउँदा कम समयमै, सुरक्षित र प्रभावकारी रूपमा सडक ट्र्याक खोल्न सकिने विश्वास ज्ञापनपत्रमा व्यक्त गरिएको छ ।गर्भवती, सुत्केरी, बिरामी तथा आपतकालीन बिरामीहरूलाई उपचारका लागि महँगो हेलिकप्टर चार्टर गर्न बाध्य हुनु परेको, कतिपय अवस्थामा समयमै उपचार नपाएर ज्यान गुमाउनुपरेको दुःखद अवस्था पनि स्मरण गराइएको प्रतिनिधि मण्डलमा सहभागीामचन्द्र राेकाया( उत्तमले) डाेल्पान्युजलाई बताए ।
चीनको मारिम नाका हुँदै भारतको रुपैडिहा नाका जोड्ने त्रिदेशीय महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारिक मार्गको रूपमा रहेको उक्त सडक खण्ड खुल्न नसक्दा डोल्पा जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटकीय विकास अवरुद्ध हुँदै आएकाे छ ।
पूर्व शहरी विकास मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता धनबहादुर बुढाको नेतृत्वमा गएकाे प्रतिनिधिमण्डलमा डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष कर्मा छोइवेल गुरुङ, उपाध्यक्ष पेम्मा धाेर्चे गुरुङ ,छार्काताङसाेङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्यहरू काली चलाउने, मालबहादुर रोकाया र लंक बहादुर शाही, टसिटुण्डुप गुरुङ र काइके गाउँपालिकाका रामचन्द्र राेकाया ( उत्तम) काे सहभागीता थियाे।

डोल्पा न्यूज । १ माघ २०८२, बिहीबार १९:३२