ताजा समाचार

त्रिपुरासुन्दरी वास इकाई शाखाकाे सुरक्षित पानीतर्फ निर्णायक पाइला: पानी परीक्षण शिविर शुरु

विष्णुप्रसाद देवकोटा

डाेल्पा।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर शुरु भएकाे छ ।याे केवल प्राविधिक कार्यक्रम मात्र होइन, स्थानीय स्वास्थ्य सुरक्षा र दीर्घकालीन सार्वजनिक नीतिको आधार निर्माण गर्ने महत्वपूर्ण हस्तक्षेपका रूपमा देखिएको छ।

स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी सुनिश्चित नगरी स्वास्थ्य प्रणाली बलियो हुन नसक्ने यथार्थलाई आत्मसात् गर्दै नगरपालिकाको वास इकाई शाखाले पालिकास्तरीय परीक्षण शिविर सुरु गरेको हो।

वर्षौँदेखि प्रयोग हुँदै आएका मुहान, ट्याङ्की र धाराबाट आउने पानी वास्तवमै पिउन योग्य छ कि छैन भन्ने प्रश्नको वैज्ञानिक उत्तर दिन शिविरकाे आयाेजना गरिएकाे वास इकाई शाखा प्रमुख धनप्रसाद बुढाले जानकारी दिए ।

शिविरमार्फत पिएच, टर्बिडिटी, इ–कोली, टिडिएस, एफआरसी तथा इलेक्ट्रिकल कन्डक्टिभिटीजस्ता सूचकहरूको परीक्षण हुँदैछ, जसले पानीको भौतिक, रासायनिक र जीवाणुजन्य अवस्था एकैपटक उजागर गर्नेछ। यसले भविष्यमा झाडापखाला, टाइफाइड, जन्डिसजस्ता पानीजन्य रोग रोकथाममा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

परिक्षणकाे क्रममा केही पानीका मुहानबाट बगेकाे पानीकाे नतिजा आइसकेकाे भएपनि केहिकाे नतिजा आउन बांकी रहेकाले २४ घन्टा अर्थात १५ गते साझ सम्ममा सबैकाे नतिजा सार्वजनिक गरिने वास शाखा प्रमुख बुढाले बताए ।

पहिलो दिनमा वडा नं १ र २ का खानेपानी योजनाहरूको परीक्षण हुनु स्वयंमा संकेत हो , नगरपालिका अब अनुमान होइन, प्रमाणका आधारमा खानेपानी सुधारको बाटो रोज्दैछ।

फाइदा के?यो शिविरबाट:पानीको वास्तविक गुणस्तर पहिचान हुनेछ जोखिमयुक्त स्रोत तुरुन्त सुधारको दायरामा आउनेछन्

उपभोक्तामा सुरक्षित पानी प्रयोगबारे चेतना बढ्नेछ ।यसैगरी भविष्यका खानेपानी योजना वैज्ञानिक तथ्यमा आधारित बन्नेछन् ।

मुहान संरक्षण,नियमित क्लोरिनेसन,संरचना मर्मत,तथा उपभोक्ता व्यवहार परिवर्तन जस्ता दीर्घकालीन कार्ययोजना निर्माण गर्नु चुनाैति पनि हुने छ ।यसका लागि बजेट, दक्ष जनशक्ति र निरन्तर अनुगमन आवश्यक छ।

विशेषज्ञहरूका अनुसार नगरपालिकालेपरीक्षणलाई एकपटकको अभियानमा सीमित नराखी नियमित प्रणाली बनाउन,असुरक्षित स्रोतहरूको सुधारका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न,र प्रत्येक वडामा पानी गुणस्तर अभिलेख (डाटा बेस) तयार गर्न जरुरी छ।

‘सुरक्षित खानेपानीको सुनिश्चितता नै स्वस्थ परिवारको आधार हो’ भन्ने नारालाई व्यवहारमा उतार्न अब नीतिगत निरन्तरता र जनसहभागिता अपरिहार्य छ।साेमबारबाट शुरु भएकाे शिविरकाे नगरप्रमुख जनचन्द्र राेकायाले एक कार्यक्रमका बीच उद्घाटन  गरे ।

शिविरलाई प्रभावकारी बनाउन खानेपानीको भौतिक, रासायनिक तथा जीवाणुजन्य अवस्था परीक्षण गर्न प्रयोग हुने आधुनिक उपकरणहरु नलगाड नगरपालिका, जाजरकोट तथा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, दुनै डोल्पाले उपलब्ध गराएकाे हाे ।

त्रिपुरासुन्दरी नगरपालिकाले थालेको यो पहल सफल कार्यान्वयन र निरन्तरतासँगै अघि बढेमा, डोल्पामा सुरक्षित खानेपानी अब सपना होइन स्थायी वास्तविकता बन्न सक्छ।

तपाईको प्रतिक्रिया