ताजा समाचार

डोल्पा कारागारमा १५ महिला यौनहिंसा मुद्दा : महिला आयोग अध्यक्षको स्थलगत निरीक्षण

विष्णुप्रसाद देवकोटा

डोल्पा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर चलिरहेको बेला राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली पहिलोपटक हिमाली जिल्ला डोल्पा आइपुगेर जिल्लाको वास्तविक अवस्था नजिकबाट अवलोकन गरेकी छन्।

पराजुलीको  स्थलगत अनुगमनले यहाँको महिला सुरक्षाको स्थिति कति कमजोर छ भन्ने प्रश्न झनै बलियोसँग उठाएको छ।यसैबीच महिला आयाेगले जिल्लामा राजनीतिक प्रतिनिधहिरुसंग संविधान नीति अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा भएका लैङ्िगक न्यायका सबाल विषयक अन्तरक्रिया समेत गरेकाे छ ।

कार्यक्रममा अध्यक्ष पराजुलीको अध्यक्षता, संविधान सभा सदस्य दुध कुमारी हमालको प्रमुख आतिथ्य र श्याम बहादुर रोकायाको विशिष्ट आतिथ्य रहेको थियो।पराजुलीले स्वागत मन्तव्य राखेपछि प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन।

महिला आयोग अध्यक्ष पराजुलीले डोल्पा कारागारको स्थलगत निरीक्षण गर्दै कैदी–बन्दीको सामाजिक र कानुनी अवस्थाबारे प्रत्यक्ष जानकारी लिइन्।निरीक्षणमा कारागारमा रहेका २५ कैदीमध्ये १५ जना महिला ‘जबरजस्ती करणी’ मुद्दामा थुनामा रहेको तथ्य उजागर भएकाे छ।यो तथ्याङ्कले डोल्पामा महिला तथा किशोरीहरू यौनजन्य हिंसाको अत्यन्तै उच्च जोखिममा रहेको संकेत समेत  गरेको आयोगले बताएको छ।

स्थलगत तथ्याङ्क सार्वजनिक भएपछि कार्यक्रमको औपचारिक सत्रमा आयोगकी सचिव रेखा कडेलले महिला अधिकार, कानुनी प्रक्रिया, नीति–ऐन तथा हिंसापीडितको सुरक्षा प्रणालीबारे विस्तृत प्रस्तुतीकरण गरिन्।उनले पहाडी–हिमाली क्षेत्रका महिलाले सामना गर्दै आएका चुनौती घटना लुकाउने सामाजिक दबाब न्यायिक पहुँचको दूरी आर्थिक तथा भौगोलिक कठिनाइ गाउँस्तरमा कानुनी ज्ञानको कमी  जस्ता विषयलाई विशेष रूपमा औंल्याइन्।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मूल सन्देश नै ‘हिंसा अन्त्य र पीडितको अधिकार संरक्षण’ भएकाे आयाेग अध्यक्ष पराजुलीको भनाई थियाे।अभियान चलिरहेकै बेला कारागारमा महिला सम्बन्धी गम्भीर अपराधका घटना अत्यधिक भेटिनु डोल्पामा महिलामाथि बढ्दो जोखिमको प्रत्यक्ष सूचक मानिएको महिला आयाेग अध्यक्ष पराजुलीले बताइन्।

सहभागीहरूले डोल्पामा यौनजन्य हिंसाको घटनाले पृष्ठभूमिमा मौन समाजलाई झक्झक्याएको,पीडितको न्यायिक पहुँच सहज बनाउन तत्काल कदम आवश्यक रहेको र राज्य संयन्त्रले हिमाली जिल्लामा लैङ्गिक हिंसा शून्यतर्फ लैजान विशेष प्राथमिकता दिनुपर्ने जस्ता सुझावहरू प्रस्तुत गरेकाे कार्यक्रमका सहभागी प्रमुख जिल्ला अधिकारी भीमराज काेइरालाले बताए ।

महिला आयोग अध्यक्ष पराजुलीको पहिलो डोल्पा यात्रा, स्थलगत निरीक्षण, कारागारमा भेटिएको तथ्य र १६ दिने अभियानको सन्दर्भ सबैले डोल्पामा महिला सुरक्षा, न्यायिक पहुँच र लैङ्गिक समानताको अवस्था सुधारका लागि तत्काल, रणनीतिक र निरन्तर पहल आवश्यक छ भन्ने निष्कर्षलाई अधिक स्पष्ट बनाएको सामाजिक अभियान्ता रणबहादुर कार्कीले बताए।

तपाईको प्रतिक्रिया