विष्णुप्रसाद देवकोटा
डोल्पा ।छार्का ताङसोङ गाउँपालिकाको गाउँसभा १७औँ अधिवेशन विभिन्न ऐन, निर्देशिका र कार्यविधि पारित गर्दै सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले कुल ६ वटा महत्वपूर्ण प्रस्ताव पारित गरेको छ भने स्थानीय विकास, सुशासन र सेवा प्रवाहका समसामयिक विषयमा विस्तृत छलफलसमेत सम्पन्न गरेकाे हाे ।
अधिवेशनमा आगामी वर्षका नीति–कार्यक्रम, बजेट कार्यान्वयनमा देखा परेका चुनौती, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका मुद्दा प्राथमिकताका साथ उठाइएको थियो। साथै, गाउँपालिकाले प्रस्तुत गरेका विभिन्न ऐन, निर्देशिका र कार्यविधिहरूलाई संशोधन–परिमार्जन गर्दै सर्वसम्मत रूपमा पारित गरिएको गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए । 
अधिवेशनमा पालिका अध्यक्ष सेनाङ गुरुङ उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङ र पालिका प्रवक्ता धावा लामा गुरुङ लगायतका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा सहभागी सदस्यहरूले स्थानीय तहको सुशासन सुदृढीकरण, वित्तीय पारदर्शिता र विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। गाउँसभाले अधूरा पूर्वाधार निर्माण कार्य तीव्र बनाउन, स्वास्थ्य सेवा सुदृढ गर्न तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिका लागि विशेष पहल गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
१७औँ अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै गाउँपालिकाले आगामी दिनमा योजनाबद्ध विकास र जिम्मेवार प्रशासनिक व्यवस्थापनका लागि सबै स्टेकहोल्डरको निरन्तर सहयोग अपेक्षा गरिएकाे पालिकाले जनाएकाे छ।

डोल्पा न्यूज । १५ मंसिर २०८२, सोमबार २१:५३