विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्ला प्रहरी कार्यालय, डोल्पाले आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनामा सम्पादन भएका गतिविधिको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। प्रेस विज्ञप्ति अनुसार मंसिर महिनामा जिल्लाभर कुल ५ वटा मुद्दा दर्ता भएका छन्।
दर्ता भएका मुद्दामध्ये गम्भीर १, सामान्य २, म.बा.बा. सम्बन्धी १, भवितव्य १ र झुन्डिएर आत्महत्या १ रहेको प्रहरीले जनाएको छ। चालु मुद्दाका प्रतिवादी संख्या ७ जना रहेका छन्।
प्रहरीका अनुसार फैसलाअनुसार १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। यस अवधिमा हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका र जेष्ठ नागरिकतर्फ हराएको निवेदन ४ जना परेकोमा १ जना फेला परेका छन्।
गुनासो तथा उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ६ वटा उजुरी परेको र ५ वटा फर्छ्यौट गरिएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत आएका १२ वटा उजुरीमध्ये ४ वटा फर्छ्यौट गरिएको जनाइएको छ।
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले १ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर, ३ ग्राम ४२ मिलिग्राम चरेस र १२ ग्राम ७५ मिलिग्राम गाँजा बरामद गरी ७ जनालाई पक्राउ गरेको छ।
आत्महत्या सम्बन्धी विवरण अनुसार मंसिर महिनामा १ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। उक्त घटना पुरुषको रहेको र उमेर समूह ३७ वर्ष रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
गत महिनामा भएका मुख्य अपराध तथा अनुसन्धानतर्फ त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजार क्षेत्रका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।
अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। साथै एलआरपि र एसआरपी गस्ती, सादा पोशाक तथा नियमित प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ। मंसिर महिनामा एलआरपी ५, एसआरपी ४३, पिकेट ४३, चेकिङ ४२ र ग्रामीण गस्ती ५७ पटक सञ्चालन गरिएको छ।
सवारी दुर्घटनातर्फ कुनै दुर्घटना नभएको जनाइएको छ। चेकिङका क्रममा ३७ वटा सवारी कारबाही गरी ६३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
विपद् व्यवस्थापनतर्फ १ वटा आगलागी घटना भएको र करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ। उक्त घटनामा ५ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो।
समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत ३७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ३३७ जना सहभागी भएका छन्। विद्यालयमा आयोजित कार्यक्रममार्फत ३३७ जना विद्यार्थी सहभागी भएका थिए।
नागरिकता, हातहतियार नवीकरण तथा अन्य कागजातका लागि २ वटा सिफारिस गरिएको छ। प्रहरी कार्यालयको हटलाइन वा डिउटी सम्पर्क नम्बरमा १६ वटा फोन कल प्राप्त भएको र नागरिक सहायता कक्षमार्फत ४२ जनालाई सेवा प्रदान गरिएको छ।
प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि नेचर वाक, खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम, बनभोज तथा ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा जस्ता गतिविधि गरिएको जनाइएको छ।
नवप्रवर्तनात्मक तथा रचनात्मक क्रियाकलापअन्तर्गत स्मारिका पुनर्निर्माण, कार्यालय प्रमुख निवास रंगरोगन, दुई वटा शौचालय निर्माण तथा सिमान्तकृत र पिछडिएका वर्ग लक्षित ५ वटा कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ६७ जना सहभागी भएका छन्।
उक्त विवरण जिल्ला प्रहरी कार्यालय, डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरद्वारा सार्वजनिक गरिएको हो।

डोल्पा न्यूज । २ पुष २०८२, बुधबार २०:०४