ताजा समाचार

डाेल्पाकाे कु गाउँका महिलाको कमाल, स्याउ उत्पादनमा छलाङ 

विष्णुप्रसाद देवकोटा

डोल्पा । शे फोक्सुण्डो गाउँपालिका–७, कु गाउँमा क्रियाशील श्री बुकुटै छोइलिङ महिला समूह ले सामाजिक, कृषि तथा आर्थिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। निल्दा लामु गुरुङको अध्यक्षतामा सञ्चालन हुँदै आएको यस समूहमा हाल २० जना महिला सदस्य आबद्ध छन्।

समूहले गाउँबस्ती तथा विद्यालय वरपर सरसफाइ गर्ने, हरियो सागसब्जी उत्पादन गर्ने तथा स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने काम गर्दै आएको छ। समूहले सिमी, आलु, कौहुली, धनियाँ, गाजर, बन्दा, मुला र खुर्सानी लगायतका विभिन्न सागसब्जी उत्पादन गरी समूहको आम्दानीका लागि बेचबिखन गर्ने समेत  गरेको छ।

महिला समूहले बचत संकलन गरी गाउँबासिन्दालाई आवश्यक परेको खण्डमा आफ्नो क्षमता अनुसार ऋणसमेत उपलब्ध गराउँदै आएको छ। यसले महिलाहरूको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याएको छ।

५–६ वर्षको निरन्तर प्रयासपछि करिब ३१०० मिटर उचाइमा स्याउ उत्पादन गर्न सफल भएको समूहले यस वर्ष मात्रै करिब १०० जातका स्याउका बिरुवा/दाना उत्पादन गरेको जानकारी दिएको छ, जुन हिमाली क्षेत्रमा सम्भावनायुक्त उपलब्धि मानिन्छ।

गत वर्ष आयोजित शे–मेला को अवसरमा महिला समूहले WWF को आर्थिक सहयोग तथा शे फोक्सुण्डो गाउँपालिकाको समन्वयमा आफ्नो गाउँमा उत्पादन भएका विभिन्न सागसब्जीहरू मेलामा आएका होटल व्यवसायी तथा पाहुनालाई बिक्री गर्ने तथा सहयोग गर्ने अवसर पाएको थियो।

वडा नम्बर–७ का वडा अध्यक्ष पेमा छरिङ गुरुङका अनुसार, श्री बुकुटै छोइलिङ महिला समूहले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै महिलाहरूको भूमिका र पहिचान मजबुत बनाउँदै आएको छ। यस्ता समूहहरूको सक्रियताले गाउँको आर्थिक विकास र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुगेको उनले बताए।तस्बिर : पेम्मा छिरिङ गुरुङ  ।

तपाईको प्रतिक्रिया