ताजा समाचार

डोल्पामा मानव अधिकार उल्लङ्घनका ११ घटना अभिलेख, बलात्कार र अभद्र व्यवहार बढ्दो

डाेल्पान्युज डेक्स

डोल्पा । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि संकलन गरिएका मानव अधिकारसम्बन्धी घटनाहरूको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम २०८२ पुस ३ गते सम्पन्न भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोल्पाको आयोजनामा त्रिपुरासुन्दरी नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा इन्सेक डोल्पाका प्रतिनिधि विष्णुप्रसाद देवकोटाले मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ११ ओटा घटना सार्वजनिक गर्नुभयो ।

इन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा

बलात्कार तथा बलात्कार प्रयासका ३,

अधद्र व्यवहारका ३,

गाली–बेइज्जत तथा हातपातका ३,

कुटपिट–तोडफोडको १

जातीय विभेदको १ घटना अभिलेख गरिएको छ ।
यी अधिकांश घटना आफ्नै घरपरिवार, नातागोता र छरछिमेकबाटै भएको पाइएको छ ।

कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले बलात्कार प्रयास, बालविवाह जस्ता मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । “पछिल्लो समय सडक सञ्जालको विस्तार, मदिरा सेवन र विभिन्न कुलतका कारण यस्ता घटना बढिरहेका छन्,” नगरप्रमुख रोकायाले भन्नुभयो ।

उहाँले नगरभित्रका २९ विद्यालय र ११ वडामा बालअधिकार, महिला अधिकार र जातीय विभेदविरुद्ध जनचेतना तथा कानुनी सचेतना कक्षा सञ्चालन गर्न आगामी वर्षदेखि इन्सेक डोल्पासँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।नगरले न्यायिक समिति र सरोकारवाला निकायसँग समन्वय गरेर वार्षिक रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र कानुनी सचेतना बढाउने उहाँको भनाइ थियो ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख यामप्रसाद शर्मा गौतमले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताउनुभयो ।“मानव अधिकार अन्तर्गत बालअधिकार अत्यन्त महत्वपूर्ण छ । शारीरिक तथा मानसिक यातना दिन नपाइने स्पष्ट व्यवस्था छ, शिक्षकले दण्ड होइन सुविधा र सहयोगमार्फत सुधार गर्नुपर्छ,” उहाँले जोड दिनुभयो ।

उहाँले विद्यालयस्तरमा सुशासन, अनुशासन र पारदर्शिता कायम गर्न तथा बालअधिकार हनन् न्युनीकरणका लागि अबदेखि विद्यालयमा अनिवार्य ‘घटना अभिलेखीकरण पुस्तिका’ राखिने जानकारी दिनुभयो ।“घटनालाई सहयोग पुग्ने किसिमले अभिलेखीकरण गर्ने, आवश्यक निर्देशन दिने र राम्रा पक्षलाई पनि समेट्ने व्यवस्था गरिन्छ,” उहाँले भन्नुभयो ।

न्यायिक समिति संयोजक देवी घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी, आमा तथा दिदीबहिनी समूह, नागरिक समाज, दलित अभियन्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया