ताजा समाचार

हिउँले सेताम्मे डाेल्पा आवागमन ठप्प :कृषिमा उर्जा

विष्णुप्रसाद देवकोटा

डोल्पा।

गएरातिदेखि परेको अविरल वर्षासँगै डोल्पामा व्यापक हिमपात भएको छ। लामो समयदेखि खडेरीका कारण हिउँदे बाली जौ र गहुँ खेतमै सुक्न थालेको अवस्थामा परेको यो हिमपातले कृषकहरूमा नयाँ आशा र खुशियाली ल्याएको छ।

हिमपातका कारण डोल्पा–जुम्ला सिमानाको मौरेलेक नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। उपल्लो डोल्पामा एक बस्तीबाट अर्को बस्तीमा जानसमेत कठिनाइ उत्पन्न भएको छ। बाक्लो हिउँ र चिसोका कारण शे–फोक्सुण्डो, डोल्पोबुद्ध, छार्काताङसोङ र काइके गाउँपालिकामा जनजीवन कष्टकर बनेको छ भने स्थानीयहरू घरबाहिर निस्कनसमेत समस्या भोगिरहेका छन्।

यसैगरी तल्लो डोल्पाका त्रिपुरासुन्दरी र ठुलीभेरी नगरपालिका, मुड्केचुला तथा जगदुल्ला गाउँपालिकामा पनि भारी हिमपात भएको छ। हिमपात जारी रहेकाले चिसो अझै बढ्ने अनुमान गरिएको छ।

यद्यपि, यही हिमपात कृषि क्षेत्रका लागि भने अत्यन्त लाभदायक मानिएको छ। जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख सरद लामाका अनुसार माघको पहिलो सातामा पर्ने हिमपातले बालीनालीका साथै बहुमूल्य जडीबुटी यार्चागुम्बुको उत्पादनसमेत राम्रो हुने अपेक्षा गरिएको छ। “हिउँले माटोमा आवश्यक चिस्यान कायम राख्ने भएकाले जौ, गहुँलगायत हिउँदे बालीका लागि यो निकै फाइदाजनक हुन्छ,” उनले बताए।

उनका अनुसार अहिले फलफूलका बिरुवा लगाउने समय पनि नजिकिँदै गएको छ। यस्तो अवस्थामा स्याउ, दाँतेओखरलगायतका बिरुवा रोप्न यो समय अत्यन्त उपयुक्त रहेको उनको भनाइ छ। पर्याप्त हिउँ र चिस्यानले बिरुवाको वृद्धि राम्रो भई दीर्घकालीन उत्पादनमा सकारात्मक प्रभाव पार्ने कृषक माेहनचन्द्र राेकायाले बताए ।

खडेरीले निराश बनेका कृषकका लागि यो हिमपात राहत र सम्भावनाको संकेत बनेको छ भने अत्यधिक हिमपातले आवागमन र दैनिक जनजीवनमा चुनौतीसमेत थपेको छ।

तपाईको प्रतिक्रिया