ताजा समाचार

डोल्पामा युवा ‘ग्रासरुट’ अभियान :६५ वडामा ६५० युवा उतार्दै नेकपा

विष्णुप्रसाद देवकोटा

डोल्पा । नेपाली कम्युनिष्ट पार्टी डोल्पाले आसन्न निर्वाचनलाई लक्षित गर्दै युवालाई केन्द्रमा राखेर व्यापक परिचालन रणनीति अघि सारेको छ। पार्टीले जिल्लास्तरीय निर्वाचन युवा परिचालन कमिटी गठन गर्दै राजनीतिक मैदानमा युवाको निर्णायक भूमिका सुनिश्चित गर्ने संकेत दिएको हो।

पार्टीको प्रदेश कमिटी सदस्य तथा युवा नेता अंगत रानाको संयोजकत्व र युवा नेता देविसर बुढाको सह–संयोजकत्वमा युवा ग्रासरुट अभियान कमिटी  गठित गरिएकाे हाे ।कमिटीले डोल्पाका सबै वडामा संगठन विस्तार गर्दै निर्वाचन अभियानलाई जरा तहसम्म पुर्‍याउने लक्ष्य लिएको प्रचार विभाग संगठन संयाेजक प्रेमबहादुर बाेहाेराले डाेल्पान्युजलाई बताए ।

कमिटीले जिल्लाभरिका युवामाझ राजनीतिक चेतना अभिवृद्धि गर्दै पार्टीका विचार, नीति र कार्यक्रमलाई घर–घरमा पुर्‍याउने रणनीति बनाएको  समेत जनाएको छ। सोही अभियानमार्फत प्रत्यक्षतर्फका उम्मेदवार धनबहादुर बुढाको विजय सुनिश्चित गर्नुका साथै समानुपातिकतर्फ पनि पार्टीलाई उल्लेख्य मत दिलाउने लक्ष्य तय गरिएको छ।

संयोजक रानाका अनुसार डोल्पाका ६५ वटै वडामा न्यूनतम १० जना युवा संगठित गर्दै कम्तीमा ६५० युवालाई सक्रिय राजनीतिमा उतार्ने योजना बनाइएको छ। उनले भने, “युवा शक्ति नै परिवर्तनको इन्धन हो, यही शक्तिलाई संगठित गरेर पार्टीको अभियानलाई निर्णायक बनाइन्छ।”

पार्टीले आगामी दिनमा युवा परिचालन कमिटीलाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउँदै चुनावी अभियानको अग्रमोर्चामा उभ्याउने स्पष्ट संकेत दिएको छ।

तपाईको प्रतिक्रिया