ताजा समाचार

बन्दसत्रले चाह्यो भने नेतृत्व पनि बद्लिन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको बन्दसत्रले गर्ने निर्णय आफूले पूर्ण रूपमा स्वीकार्ने स्पष्ट गरेका छन्। नीति र नेतृत्व दुवै परिवर्तन गर्न महाधिवेशन प्रतिनिधिहरूको चाहना भए त्यसलाई रोक्ने कुनै शक्ति नहुने उनको भनाइ छ।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले पार्टी सभापति शेरबहादुर देउवासहित सबै शीर्ष नेताहरूलाई सोमबारको बन्दसत्रमा सहभागी हुन आग्रह गरे। नेताहरू उपस्थित नभए पनि प्रतिनिधिहरूले गर्ने निर्णय मान्नैपर्ने उनले चेतावनी दिए।
“आज उद्घाटन भयो, भोलि बन्दसत्र छ। आउने–नआउने नेताहरूको मर्जी हो, तर निर्णय गर्ने अधिकार प्रतिनिधिहरूको हो,” थापाले भने, “महाधिवेशनले चाहे नीति बदल्छ, नेतृत्व पनि बदल्छ। यही अधिकारका लागि यो भेला भएको हो।”
कांग्रेस परिवर्तनका लागि जोखिम लिन तयार रहेको उल्लेख गर्दै थापाले संघर्षको भाषामा भने, “युद्ध जित्न कहिलेकाहीँ लडाइँ हार्न तयार हुनुपर्छ। ज्वालालाई जीवित राख्न डढ्न पनि तयार हुनुपर्छ, हामी तयार छौं।”
थापाले सभापति देउवालाई गलत सल्लाहबाट टाढा रहँदै विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरे। उनले २०१४ सालमा सुवर्णशमशेरले विशेष महाधिवेशन गरेर स्वयं पदबाट हट्दै बीपी कोइरालालाई सभापति घोषणा गरेको ऐतिहासिक उदाहरण स्मरण गराए।
महामन्त्री थापाले विशेष महाधिवेशनसँगै पार्टी सञ्चालनको पुरानो शैली भत्किएको दाबी गरे। “अब माथि बस्नेले तल बस्नेलाई ‘जय नेपाल’ भन्नुपर्छ, तलबाट माथि होइन,” भन्दै उनले कार्यकर्ता र सदस्यको सम्मान नै अबको कांग्रेसको पहिचान हुने बताए।
बन्दसत्रको निष्कर्ष के हुन्छ भन्नेबारे आफूलाई थाहा नभएको भन्दै थापाले भने, “यो केन्द्रीय समितिले तय गरेको एजेन्डाको महाधिवेशन होइन। सदस्यहरूले मागेर भएको हो। म पनि तपाईंहरूले बोलाएर आएको पाहुना मात्रै हुँ। भोलि बन्दसत्रले जे निर्णय गर्छ, त्यो मलाई स्वीकार्य छ।”
उनले विशेष महाधिवेशन सम्भव बनाउन भूमिका खेलेका कार्यकर्तालाई धन्यवाद दिँदै कांग्रेस ‘लासहरूको होइन, जिउँदा मानिसहरूको पार्टी’ भएको सन्देश स्थापित भएको बताए।
उद्घाटन सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ मोड र नयाँ मनोविज्ञानतर्फ लैजाने विश्वास व्यक्त गरे। “हामी कांग्रेस बदल्छौं, देश बदल्छौं। बदलिन पनि सक्छौं, बदल्न पनि सक्छौं,” उनले भने।
विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजे भृकुटीमण्डपमै हुने छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा बोलाइएको यस महाधिवेशनमा आइतबार साँझसम्म ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्। देउवा पक्षका पुष्पा भुसाल, डा. डिला संग्रौला, उदयशमशेर जबरालगायत ३० केन्द्रीय सदस्य सहभागी भएसँगै प्रतिनिधि संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
उद्घाटन सत्रमा उद्योगपति तथा नेता विनोद चौधरीलगायत वक्ताहरूले कांग्रेसले स्पष्ट नेतृत्व लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया