ताजा समाचार

कांग्रेस विशेष महाअधिवेशन वैधानिक : दस्तखत फिर्ता दाबी भ्रामक

नेपाली कांग्रेसको दोस्रो विशेष महाअधिवेशन पौष ३० गते विधानसम्मत, बहुमत महाअधिवेशन प्रतिनिधिको उपस्थिति र सक्रिय सहभागितामा पूर्ण रूपमा वैधानिक रूपमा सम्पन्न भएको केन्द्रीय समितिले स्पष्ट पारेको छ ।

केन्द्रीय समितिले जारी गरेको जानकारीअनुसार उक्त विशेष महाअधिवेशनले नेपाली कांग्रेसको १४औँ महाअधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भंग गर्दै १५औँ महाअधिवेशन सम्पन्न नभएसम्मका लागि गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन गरेको विषय सार्वजनिक भइसकेको छ ।

विशेष महाअधिवेशन सम्पन्न भएपछि केही महाअधिवेशन प्रतिनिधिहरूले दस्तखत फिर्ता लिएको भन्ने प्रचार केही सञ्चारमाध्यममा भएकोप्रति ध्यानाकर्षण जनाउँदै केन्द्रीय समितिले त्यसको सत्यता र वैधानिक प्रभावबारे स्पष्टिकरण दिएको छ ।

केन्द्रीय समितिका अनुसार विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाअधिवेशन प्रतिनिधिको हस्ताक्षर संलग्न थियो । दर्तापछि मात्र २९ जनाले हस्ताक्षर फिर्ता लिएका थिए ।

महाअधिवेशनमा कुल ४ हजार ६३५ प्रतिनिधिमध्ये २ हजार ६५२ जना प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित सबैले निर्णय प्रक्रिया, बहस तथा मतदानमा सक्रिय सहभागिता जनाएको केन्द्रीय समितिको भनाइ छ ।

महाअधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने कुनै पनि हस्ताक्षरले अधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै प्रभाव नपर्ने स्पष्ट पारिएको छ । संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक वैधानिक रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनका निर्णयलाई पछिल्लो हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न नसकिने जनाइएको छ ।

केन्द्रीय समितिले दस्तखत फिर्ता लिएको भनिएको समय, संख्या तथा व्यक्तिहरूको कुनै आधिकारिक सूची, प्रमाणित कागजात वा सत्यापित विवरण सार्वजनिक रूपमा उपलब्ध नभएको उल्लेख गर्दै यस प्रकारको प्रचार राजनीतिक उद्देश्यले सार्वजनिक धारणा प्रभावित गर्न फैलाइएको भ्रामक र अतिरञ्जित दाबी भएको दाबी गरेको छ ।

प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा विशेष महाअधिवेशन पूर्ण रूपमा वैधानिक रहेको र त्यससम्बन्धी भ्रममा नपर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया