विष्णुप्रसाद देवकोटा
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य तथा अन्तर्राष्ट्रियस्तरमा परिचित फोक्सुण्डो क्षेत्र फोहोर व्यवस्थापनको अभावका कारण गम्भीर संकटतर्फ उन्मुख छ ।यसैबेला पर्यटन पदमार्गबाट संकलित १२ सय केजी फोहोर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय, सुलिगाड डोल्पालाई हस्तान्तरण गरिएको छ।
फोक्सुण्डो ताल, साइजेल, रेची बस्ती तथा शुलिगाड–फोक्सुण्डो पर्यटन पदमार्ग आसपासबाट संकलन गरिएको उक्त फोहोर ठूलीभेरी नगरपालिका–८ का पर्यटन अभियन्ता तथा पर्यटक गाइड सुवर्णकुमार डाँगीको अगुवाइमा मंगलबार बेलुकी निकुञ्ज कार्यालयलाई बुझाइएको हो।
जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया,डिभिजन वन कार्यालय प्रमुख जितेन्द्र महत नागरिक समाज अध्यक्ष शेरबहादुर बुढा फाेक्सुण्डाे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तेजेन्द्र गुरुङ जिल्ला प्रशासन कार्यालयका अमर बस्नेत पत्रकार महासंघका अध्यक्ष सराेज थापा र जिल्ला प्रहरी कार्यालयका प्रसनी सुपबहादुर थापाकाे उपस्थिति रहेकाे कार्यक्रममा पर्यटक पथदर्शक सुवर्ण बुढाले शे फाेक्सुण्डाे राष्ट्रिय षनिकुन्ज कार्यालयका रेन्जर किशाेर कुमार महतलाई बुझाएका हुन ।
हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको फोक्सुण्डो क्षेत्रमा पर्यटक संख्या बढ्दै जाँदा प्लास्टिकजन्य फोहोर, बोतल, खाद्य प्याकेट र जैविक फोहोरसमेत अनियन्त्रित रूपमा थुप्रिँदै गएको स्थानीयहरूको गुनासो छ। संरक्षण क्षेत्र भए पनि फोहोर संकलन, व्यवस्थापन र पुनःप्रयोगका लागि दीर्घकालीन योजना नहुँदा प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्यटकीय छविमै नकारात्मक असर पर्न थालेको सरोकारवालाहरू बताउँछन्।
सरकारी संयन्त्र कमजोर देखिएको अवस्थामा स्थानीय पर्यटन अभियन्ताको अग्रसरता ले फोक्सुण्डो संरक्षणमा आशाको संकेत दिएको छ। अभियन्ता डाँगीका अनुसार, “पर्यटनबाट आम्दानी लिने तर फोहोर व्यवस्थापनमा बेवास्ता गर्ने हो भने फोक्सुण्डोको अस्तित्व नै संकटमा पर्छ। अब पर्यटन भनेको केवल भ्रमण होइन, संरक्षणको जिम्मेवारी पनि हो।”
संकलित फोहोर सुलिगाडसम्म ल्याएर बुझाइए पनि यसको दीगो व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले औँल्याएका छन्। दुर्गम भौगोलिक अवस्था, ढुवानी खर्च, प्रशोधन केन्द्रको अभाव र स्पष्ट नीति नहुँदा फोहोर व्यवस्थापन झन् जटिल बन्दै गएको हो।
सरसफाइ अभियानलाई निरन्तरता दिन, पर्यटकलाई “फोहोर नल्याउने–नछोड्ने” नीति लागू गर्न, स्थानीय तह, निकुञ्ज प्रशासन र पर्यटन व्यवसायीबीच स्पष्ट कार्ययोजना आवश्यक देखिएको छ। यसै सन्दर्भमा मंगलबार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजनामा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिने निकुञ्ज कार्यालय, सुलिगाड डोल्पाले जनाएको छ।
प्राकृतिक सम्पदा, जैविक विविधता र सांस्कृतिक पहिचानको प्रतीक फोक्सुण्डो क्षेत्रको संरक्षण सरकार वा अभियन्ताको मात्र नभई पर्यटक, गाइड, स्थानीय तह र नागरिक सबैको साझा दायित्व हाे तसर्थ यश तर्फ सबै जिम्मेवार बन्नु आवश्यक छ ।

डोल्पा न्यूज । ८ पुष २०८२, मंगलवार २०:१५