डाेल्पान्युज
काठमाडौं । नेपालका स्थानीय तहमध्ये सबैभन्दा बढी गरिबी दर भएका पालिकाको सूची सार्वजनिक भएको छ। सार्वजनिक तथ्यांकअनुसार कर्णाली प्रदेशका जाजरकोटको जुनिचाँदे गाउँपालिका र मुगुको सोरु गाउँपालिका क्रमशः पहिलो र दोस्रो स्थानमा परेका छन्।
सूचीअनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिकामा ७७.९ प्रतिशत गरिबी दर रहेको छ। कुल २३ हजार ७८९ जनसंख्या रहेको उक्त गाउँपालिकामा करिब १८ हजार ५१५ जना गरिबीको रेखामुनि जीवनयापन गरिरहेका छन्। यस्तै, मुगुको सोरु गाउँपालिकामा ७२.३६ प्रतिशत गरिबी दर रहेको छ भने कुल १४ हजार २७० जनसंख्यामध्ये १० हजार ३३० जना गरिब रहेको तथ्यांकमा उल्लेख छ।
सूचीको तेस्रो स्थानमा सुदूरपश्चिम प्रदेशको अछामस्थित ढकारी गाउँपालिका रहेको छ, जहाँ गरिबी दर ७०.५७ प्रतिशत पुगेको छ। त्यसपछि बैतडीको सिगास गाउँपालिका (६६.५७ प्रतिशत) र अछामकै कमलबजार नगरपालिका (६६.८ प्रतिशत) क्रमशः चौथो र पाँचौं स्थानमा छन्।
यसैगरी, बागमती प्रदेशको मकवानपुरस्थित राक्सिराङ गाउँपालिका पनि उच्च गरिबी दर भएका पालिकामध्ये परेको छ। त्यहाँ ६५.६४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ।
सूचीमा सुदूरपश्चिम प्रदेशका पालिकाको संख्या उल्लेखनीय रहेको छ। डोटीको शिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका र बैतडीको शिवनाथ गाउँपालिका पनि उच्च गरिबी दर भएका शीर्ष १० स्थानीय तहमा परेका छन्। यस्तै, लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित कृष्णनगर नगरपालिकामा पनि ६४.२३ प्रतिशत गरिबी दर रहेको देखिएको छ।
सार्वजनिक भएको यो तथ्यांकले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा राज्यको प्राथमिकता अझै कमजोर रहेको संकेत गरेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम स्थानीय तहमा लक्षित कार्यक्रम र प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको सरोकारवालाहरूको भनाइ छ।

डोल्पा न्यूज । २५ पुष २०८२, शुक्रबार २२:०९