
क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शेरबहादुर देउवाले तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दश वर्षे जनयुद्धले ल्याएको परिवर्तनमाथि कुठाराघात गरेको आरोप लगाएका छन्।
सुशिला कार्की नेतृत्वले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन बहिष्कारलगायत पार्टीले अवलम्बन गरेको नीति तथा कार्यदिशाबारे जानकारी दिन डोल्पाको दुनैमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले उक्त आरोप लगाएका हुन्।
उनले दलाल–दलिय पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी व्यवस्थाको खाका तयार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नु नै वर्तमान व्यवस्थाको उपयुक्त विकल्प भएको दाबी गरे।
गत भदौ २३ र २४ गते भएका घटनाबारे टिप्पणी गर्दै देउवाले ती घटनाहरू ‘जेन–जी’ आन्दोलनका नाममा भए पनि वास्तविक रूपमा दलाल साम्राज्यवाद र विस्तारवादी शक्तिको षड्यन्त्र तथा घुसपैठबाट घटाइएको दाबी गरे। उनका अनुसार ती गतिविधि जेन–जीको चाहनाअनुसार नभई अरूको योजना र चाहनामा भएका थिए।
पत्रकारहरूको जिज्ञासामा देउवाले चुनाव बहिष्कार ‘बहिष्कारका लागि मात्र’ नभएको स्पष्ट पार्दै सर्वपक्षीय वामपन्थी, राष्ट्रवादी, देशभक्त र प्रगतिशील शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन वा राष्ट्रिय संयुक्त मोर्चा निर्माण आवश्यक रहेको बताए।

पाेलिट ब्युरो सदस्य तथा भेरि कर्णाली क्षेत्र नम्वर ३ का इन्चार्ज समेत रहेका देउवाले सुशिला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली सरकार’ को संज्ञा दिँदै उक्त सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरिसकेको जानकारी दिए।

डोल्पा न्यूज । २ पुष २०८२, बुधबार १९:२१