ताजा समाचार

डाेल्पा ठुलीभेरीकाे आदर्श माबिमा यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न

डाेल्पान्युज डेक्स

डोल्पा । ठुलीभेरी नगरपालिका स्थित आदर्श  माध्यमिक विद्यालयमा माध्यमिक  तहका विद्यालयहरूको सहभागितामा यौन तथा प्रजनन स्वास्थ्य मेला–२०८२ सम्पन्न भएको छ।

ठुलीभेरी नगरपालिका नगर प्रमुख सुबर्ण कुमार बुढाको प्रमुख आतिथ्यता आदर्श माध्यमिक विद्यालय, जुफालको आयोजनामा मेला सम्पन्न भएकाे हाे ।

मेलामा ठुलीभेरी नगरपालिकाभित्रका विभिन्न माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मेलाको उद्देश्य किशोरकिशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित व्यवहार, लैङ्गिक समानता, किशोरीमैत्री सेवा, मानसिक स्वास्थ्य तथा जीवनोपयोगी सीपसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुबर्ण कुमार बुढाले किशोरकिशोरी लक्षित यस्ता शैक्षिक मेलाले व्यवहारगत परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, आयोजक विद्यालयका प्रधानाध्यापक बालकृष्ण डांगीले विद्यालयस्तरमै यौन तथा प्रजनन स्वास्थ्यबारे व्यवहारिक र खुला छलफल आवश्यक रहेको बताए।उनले भने, “किशोरकिशोरी उमेर संवेदनशील हुन्छ। सही जानकारी र सकारात्मक मार्गदर्शन पाएमा उनीहरू गलत अभ्यासबाट जोगिन सक्छन्। यस्ता मेलाले विद्यार्थीलाई आत्मविश्वासी र सचेत बनाउँछ।”

मेलामा विद्यार्थीहरूले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी स्टल, शैक्षिक सामग्री, चित्रकला, नाटक तथा अन्तर्क्रिया कार्यक्रममार्फत आफ्ना सिर्जनात्मक प्रस्तुति राखेका थिए।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीचन्द्र सार्की,प्रमुख प्रशासकीय अधिकृत सन्ताेष खड्का वडाअध्यक्षहरु सुवास कठायत,ध्रुबविक्रम शाही र भिमबहादुर बुढा लगायत शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया