डाेल्पान्युज
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई भगौडाको आरोप लगाएका छन् । नेपाली कम्युनिस्ट पार्टीले आज मुसिकोटमा आयोजना गरेको एकता सन्देश सभामा बोल्दै उनले शर्मालाई विचारमा विचलित भएको भन्दै भगौडाको आरोप लगाएका हुन् ।
प्रचण्डले जनार्दनलाई अराजकतावादी र साम्राज्यवादीको संज्ञा दिँदै उनको पछि रुकुमेली जनता नलाग्ने ठोकुवा गरे । उनले शर्मालाई मार्क्सवादी र कम्युनिष्ट नेता समेत नभएको आरोप लगाए । रुकुमेली जनता क्रान्ति र एकताको पक्षमा रहेको भन्दै रुकुमका जनतालाई इमान्दारिता र विचारमा महान भएको भन्दै प्रचण्डले प्रशंसा गरे ।
रुकुमेली जनता सधैँ एकता र क्रान्तिको साथमा रहेकाले आफ्नो साथ अब रुकुमेली जनता सङ्गै रहने बताए । उनले प्रभाकरको कुनै कमी समेत हुन नदिने ठोकुवा गरे ।
त्यस्तै देश अहिले असाधारण परिस्थितिमा रहेकाले १७ वटा पार्टी एक भएर समाजवादको यात्रामा लागेको प्रचण्डले बताए । अब निर्वाचन पछि यो पार्टीले पहिले भन्दा बढी विकासको काम सहित भौतिक पूर्वाधार, उत्पादन, कृषि र रोजगारीमा जोड्ने योजना रहेको उनको भनाइ छ ।
यसैगरी प्रचण्डले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्व बाट आफु चुनाव लड्ने निश्चित भएको ठोकुवा गरे । उनले अब रुकुम पूर्व मात्रै नभएर रुकुम पश्चिममा पनि आउने र यहाँका जनतालाई सधैं हेड क्वाटरमा ढोका खुला हुने बताए ।

डोल्पा न्यूज । २६ पुष २०८२, शनिबार १८:३०