विष्णुप्रसाद देवकोटा
डोल्पा । राष्ट्रिय निकुञ्जको सीमा बाहिर सार्वजनिक सडक खण्डमा राखिएको चेकपोष्टमा नेपाली सेनामा कार्यरत एक सैनिकले जिप चालकलाई कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल विद्यार्थी संघ, जिल्ला समिति डोल्पाले गम्भीर आपत्ति जनाएको छ।
नेविसंघ डोल्पाले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय निकुञ्जको अधिकार क्षेत्र बाहिर चेकपोष्ट राखिनु आफैंमा कानुनी विवादको विषय भएको उल्लेख गर्दै सो चेकपोष्टमा सर्वसाधारण नागरिकमाथि गरिएको कुटपिट, गालीगलौज तथा अमानवीय व्यवहार निन्दनीय र अस्वीकार्य रहेको जनाएको छ। सुरक्षा निकायबाट नागरिकको मौलिक हक हनन हुनु कानुनी शासनको ठाडो उल्लंघन भएको संगठनको ठहर छ।
विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषी सैनिकमाथि तत्काल कारबाही गर्न माग गरिएको छ। साथै कुटपिटबाट घाइते चालकको उचित उपचार र क्षतिपूर्ति सुनिश्चित गर्न, निकुञ्ज सीमा बाहिर राखिएको अवैध चेकपोष्ट तत्काल हटाउन तथा नागरिकसँग मर्यादित र कानुनी व्यवहार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
नेपाल विद्यार्थी संघ डोल्पाले नागरिक अधिकार, संविधान र कानूनी शासनको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।प्रेस विज्ञप्तिमा जिल्ला अध्यक्ष मिलन बुढाथोकीको हस्ताक्षर रहेको छ।

डोल्पा न्यूज । ५ पुष २०८२, शनिबार १४:०८