विष्णुप्रसाद देवकोटा । डोल्पा
डोल्पा जिल्लामा गएरातिदेखि अविरल वर्षा र त्यसपछि सुरु भएको भीषण हिमपातले जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। धेरै वर्षपछि यस वर्ष परेको यो दोस्रो हिमपातले जिल्लाभरि चिसो बढाउँदै जनजीवन अस्तव्यस्त बनाएको छ।
उपल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिका क्षेत्रसँगै तल्लो डोल्पाको जगदुल्ला, मुड्केचुला तथा मध्य डोल्पाको काइके गाउँपालिका, ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका उच्च भू–भागहरू बाक्लो हिउँले सेताम्मे बनेका छन्। जिल्ला सदरमुकाम दुनैस्थित त्रिपुराकोट बजार क्षेत्रमा समेत हिमपात जारी रहँदा हिउँ जम्ने क्रम सुरु भएको छ।
लगातारको हिमपातका कारण जिल्लाको एकमात्र चालु हवाई नाका जुफाल विमानस्थल पूर्ण रूपमा बन्द भएको छ भने प्रमुख सडक मार्गहरू अवरुद्ध हुँदा सवारी आवागमन समेत अवरुद्घ भएका छन । जुम्ला–डोल्पा सिमानाको मौरलेक क्षेत्रमा बाग्लाे हिउँ जमेसँगै सीमा नाका पूर्णरूपमा बन्द भएको जगदुल्ला गाउँपालिकाले जनाएकाे छ।
हिमपातसँगै अत्यधिक चिसो बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। लामो दूरी हिँड्नुपर्ने बाध्यता, खाद्यान्न ढुवानीमा अवरोध र बिरामी तथा आपत्कालीन सेवामा समेत समस्या देखिन थालेको छ।
यसैबीच, निरन्तर हिमपात र वर्षाका कारण नेपाल टेलिकमका डोल्पा जिल्लास्थित केही टावरहरू बन्द हुँदा सञ्चार सेवा पनि अवरुद्ध भएको छ। मुड्केचुला गाउँपालिकाका दुई टावर, जगदुल्ला डाँडास्थित टावर तथा त्रिपुरासुन्दरी नगरपालिकाको दापुस्थित र करेलीकाडा नजिकको टावर विद्युत् आपूर्ति नहुँदा सञ्चालन बाहिर रहेका छन्।त्यसैगरी छार्का,घुनासपास,कुगाउ,मुकाेट निजाल सर्मि पहाडा स्थित टावर विधुत अभावले सिस्टम डाउन हुदा संचार अवरुद्घ छ ।तर जगदुल्लाकाे रिमि स्थित टावर र त्रिपुरासुन्दरीकाे ल्हास्थित टावर भने संचालनमा छन ।
दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीका अनुसार विद्युत् आपूर्ति अवरुद्ध हुनु र घाम नलाग्दा सोलार चार्ज हुन नसक्नु नै समस्याको मुख्य कारण हो। हालसम्म अन्य कुनै प्राविधिक खराबी नरहेको कार्यालयले जनाएको छ। यस्तै मौसम अवस्था कायम रहेमा काइके गाउँपालिका लगायत अन्य क्षेत्रका टावरहरू समेत बन्द भई थप स्थानहरू सञ्चारविहीन हुने सम्भावना रहेको छ।
यद्यपि, यही हिमपात र हिउँदे वर्षातले हिउँदे बाली जौ, उवा, गहुँलगायत सप्रने तथा बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशाले कृषक र जडीबुटी व्यवसायीहरूमा उत्साह थपिएको छ।
प्रकृतिको कठोरता र आशाको उज्यालो एकैसाथ बोकेको यो हिमपातले डोल्पाको जनजीवनलाई फेरि एकपटक चुनौती र सम्भावनाको दोसाँधमा उभ्याएको छ।

डोल्पा न्यूज । १४ माघ २०८२, बुधबार १२:३४