नेकपा (एमाले)ले पार्टी विधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने संकेतस्वरूप डोल्पामा संगठनात्मक कारबाही गरेको छ। १० औँ राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानअनुसार, मिति माघ ६ गते बसेको नेकपा (एमाले) डोल्पा जिल्ला कमिटीको पूर्ण बैठककाे निर्णय अनुसार पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै विभिन्न तहका नेता–कार्यकर्तामाथि कारबाही गरेको हो।
जिल्ला कमिटीको निर्णयअनुसार त्रिपुरासुन्दरी नगरपालिकासँग सम्बन्धित जिल्ला सचिवालय सदस्यदेखि नगर तहका पदाधिकारीसम्मलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ।
कारबाहीमा पर्नेमा जिल्ला सचिवालय सदस्य खिमबहादुर बुढा, जिल्ला कमिटी सदस्यहरू बिमाकर पहाडी, हिमराज पाहाडी, चन्द्रवीर बोहोरा, लालबहादुर बुढा, त्रिपुरासुन्दरी नगर कमिटी सदस्य तुलराम केसी तथा नगरपालिका युवा संघ अध्यक्ष विष्णु बोहोरा लगायत रहेका छन्।
एमाले डोल्पा जिल्ला कमिटीले पार्टी नीति, निर्णय र विधानभन्दा माथि कोही पनि नहुने स्पष्ट पार्दै अनुशासनविहीन गतिविधिप्रति शून्य सहनशीलता अपनाइने जनाएको छ।

डोल्पा न्यूज । १४ माघ २०८२, बुधबार १६:५२