विष्णुप्रसाद देवकोटा
डोल्पा ।फागुन २१ गते हुने प्रतिनिधि सभासदस्य निर्वाचनमा उम्मेदवार बनेका ओमेन्द्र केसीले डाेल्पालाई भाेट बैङ्क बनाउने राजनीति अस्वीकार्य हुने बताएका छन ।
स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर के.सी.ले पत्रकार सम्मेलन गरी आफ्नो घोषणापत्र सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन।डोल्पाको सदरमुकाम दुनैस्थित न्यु सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गरेर उनले डोल्पाका लागि चुनाव भाषण होइन, ठोस काम आवश्यक भएको स्पष्ट पारे।
केसीले डोल्पा दशकौँदेखि राज्यको उपेक्षामा परेको जिल्ला भएको बताए।दलगत स्वार्थले विकास रोकेको उनको आरोप छ।अब यो अवस्था स्वीकार्य नभएको उनले दोहोर्याए।
उनले सडक, स्वास्थ्य, शिक्षा र रोजगारीलाई घोषणापत्रको मेरुदण्ड बताएका छन्।यी बिना चुनाव केवल औपचारिकता हुने उनको भनाइ छ।सडक र यातायातमा तत्काल सुधार नगरे डोल्पाको भविष्य अन्धकार हुने चेतावनी दिए।निर्वाचित भएपछि पहिलो वर्षमै परिणाम देखिने काम गर्ने उनले बताए।
बिरामी हुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता अस्वीकार्य भएको उनको भनाइ छ।गाउँमै उपचार, चिकित्सक र उद्धार प्रणाली अनिवार्य बनाइने उनले स्पष्ट पारे।
शिक्षक अभावका कारण विद्यालय बन्द हुनु राज्यको असफलता भएको उनले बताए।दरबन्दी र जवाफदेही प्रणाली लागू गर्ने प्रतिबद्धता जनाए।युवा पलायनलाई राष्ट्रिय लज्जा भन्दै उनले कडा टिप्पणी गरे।
कृषि, जडीबुटी र पर्यटनमा रोजगारी सिर्जना गरेर युवालाई गाउँमै रोक्ने दाबी गरे।हिमाली जिल्लालाई बजेटमा सधैं पुछारमा राखिएको उनले आरोप लगाए।संसद्मा पुगेर तथ्य र दबाब दुबै प्रयोग गर्ने उनको भनाइ छ।जडीबुटी र प्राकृतिक स्रोत बाहिरिया दलालको कब्जामा रहेको आरोप लगाए।
स्थानीयको अधिकार स्थापित नगरी विकास सम्भव नहुने उनले बताए।जलवायु परिवर्तनको असरलाई नदेखेजस्तो गर्नु अपराध हुने उनले टिप्पणी गरे।कार्यक्रम र बजेटसहित कार्यान्वयन गर्ने उनले बताए।
केसीले जित–हारभन्दा जनताको विश्वास ठूलो भएको बताए।महिनामा एक पटक सार्वजनिक प्रतिवेदन नदिए आफूलाई प्रश्न गर्न आग्रह गरे।उनले प्रतिनिधि सभा सदस्यलाई विशेषाधिकार होइन, जिम्मेवारी ठानेको बताए।
डोल्पालाई भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गर्ने प्रतिज्ञा गरे।अन्त्यमा उनले दबिएको आवाज विस्फोट हुने चेतावनी दिए।
प्रेसर कुकर चुनाव चिन्हमा मतदान गर्न मतदातासँग अपिल गर्दै पत्रकारहरुकाे विभिन्न जिज्ञासामा स्वतन्त्र उम्मेदवार केसीले प्रेसर कुकर चिन्हकाे अर्थ दवाब मार्फत जनताकाे मागहरु सम्बाेधन गर्ने आफ्नाे उद्देश रहेकाे प्रस्ट्याए ।

डोल्पा न्यूज । १३ माघ २०८२, मंगलवार १४:५०