ताजा समाचार

डोल्पाकाे दुनैमा ट्याक्टर दुर्घटना : २१ वर्षीय चालकको मृत्यु, बजारमा समेत क्षति

हिमाली जिल्ला डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। सोमबार साँझ ठूलीभेरी नगरपालिका–४ तिब्लाबाट सदरमुकाम दुनैतर्फ आउँदै गरेको लु ५ त ७३१ नम्बरको ट्याक्टर दुर्घटनामा परि चालक त्रिपुरासुन्दरी नगरपालिका–१ रल्लीका अन्दाजी २१ वर्षीय विशाल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार तिब्लास्थित भित्री खोलाबाट ढुङ्गा बोकेर दुनैतर्फ आउँदै गरेको ट्याक्टर ब्रेक फेल भई अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनापछि ट्याक्टरको इन्जिन र ट्राली टुक्रा–टुक्रा भई छरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको क्रममा ट्याक्टरका दुईवटा बीचका टायर छुट्टिएर गुड्दै दुनै बजारसम्म पुगेका थिए। ती टायरका कारण स्थानीयका केही घर तथा संरचनामा क्षति पुगेको छ। टायरले सतकुमार महराले सञ्चालन गरेको स्केटिङ हाउसको तीन–चार वटा टिनमा क्षति पुर्‍याएको छ भने मिलन शाही, शम्सेर थापा र यज्ञबहादुर शाहीका घरका टिन र भित्तामा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।घटनापछि प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरको कमाण्डमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय डोल्पाबाट करिब  २  किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्दछ।
ट्याक्टर धनी जुम्ला जिल्ला गुठिचौर गाउँपालिका–५ देपालगाउँ स्थायी घर भई हाल ठूलीभेरी नगरपालिका–३ दुनै बस्दै आएका ३१ वर्षीय सर्जन नेपाली साँझ ७ः१० बजे घटनास्थलमा पुगेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया