
डोल्पा । विजया दशमीको उल्लाससँगै नेपाली मौलिक संस्कृति, आपसी सद्भाव र राष्ट्रिय स्वाभिमानको सन्देश प्रवाह गर्दै त्रिपुरासुन्दरी नगरपालिका–३, जिउस्थित श्री महादेव आधारभूत विद्यालयले शिक्षक–शिक्षिकालाई सम्मानसहित दशैँ बिदा गरेको छ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकालाई नेपाली मौलिक पहिचान झल्काउने ढाका कपडाको जुवारी कोट उपहार प्रदान गर्दै विजया दशमीको शुभकामना आदानप्रदान गरेका हुन । मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै शिक्षक–शिक्षिकाप्रति सम्मान, आत्मीयता र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस पहलले चाडपर्वलाई थप अर्थपूर्ण बनाएको छ।
यसै अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा धूप, तेल र रोटी चढाएर राष्ट्रिय झण्डाको विधिपूर्वक पूजा गरिएको छ। पुरानो झण्डा परिवर्तन गरी नयाँ राष्ट्रिय झण्डा फहराइएको प्रधानाध्यापक गुरुङले जानकारी दिए।
राष्ट्रिय झण्डाप्रतिको सम्मान, देशप्रतिको निष्ठा र राष्ट्रिय एकताको भावनालाई आत्मसात् गर्दै गरिएको उक्त कार्यले विद्यार्थी तथा विद्यालय परिवारमा देशप्रेम, सांस्कृतिक चेतना र राष्ट्रिय गौरवको भावना जागृत गर्ने अपेक्षा गरिएको छ।
नेपाली मौलिक पहिरनको सम्मान, आपसी सद्भावको प्रवर्द्धन र राष्ट्रिय प्रतीकप्रतिको श्रद्धालाई एकैसाथ जोड्दै विद्यालयले यस वर्षको दशैँ बिदालाई संस्कार, सम्मान र देशभक्तिको सन्देशसँग जोडेको छ।
शिक्षकलाई ढाका कोट उपहार, राष्ट्रिय झण्डाको पूजा गरेर दशैँ बिदा
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २५ आश्विन २०८३, आईतवार १२:११