ताजा समाचार

विपद्मा काइकेको साथ : भोटेकोशी बाढीपीडितलाई एक लाख सहयोग

विष्णुप्रसाद देवकोटा
डोल्पा । आफ्नै हिमाली भूगोलमा विपद्का चुनौती सामना गर्दै आएको काइके गाउँपालिकाले रसुवाको भोटेकोशी बाढीपीडितका लागि सहयोगको हात बढाएको छ।
काइके गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहतका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष अंगद रानाले विज्ञप्तिमार्फत बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सहयोग उपलब्ध गराउने जानकारी दिएका छन्।
विपद् कुनै एक ठाउँको मात्र समस्या नभएको भन्दै गाउँपालिकाले खोज, उद्धार र राहत कार्यमा आफ्नो तर्फबाट सहयोग पु¥याउन रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष रानाले बताए।
बुधबार बिहान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पु¥याएको छ। बाढीको प्रभाव भोटेकोशीसँगै त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा समेत परेको छ।
सम्भावित थप क्षतिलाई मध्यनजर गर्दै काइके गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया