ताजा समाचार

समाजसेवी बैजीले गरे डाेल्पा गैरीगाउँ बाढीपीडितलाई सहयाेग

विष्णुप्रसाद देवकोटा
डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँका बाढीपीडित परिवारलाई राहत वितरण गर्ने क्रम निरन्तर जारी रहेको छ। यसक्रममा स्थानीय नेता तथा व्यवसायीहरूले खाद्यान्न, लत्ताकपडा र नगद सहयोग प्रदान गरेका छन्।
जगदुल्ला गाउँपालिका–१ का निर्माण व्यवसायी तथा नेता धनचन्द्र बैजीले बाढीपीडितका लागि करिब १ लाख २२ हजार रुपैयाँ बराबरका ५० बोरा चामल हस्तान्तरण गरेका छन्।
त्यसैगरी व्यवसायी तथा नेता **हेमबहादुर महतारा (कार्माछिरिङ)**ले ७९ हजार ४ सय रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन्। उनले ४ थान फाइबर सिरक, ४ थान डस्ना, ३६ प्याकेट आटा, ५ पेटी खानेतेल, १ बोरा चिउरा, २ बोरा मसुरो दाल, ५० केजी नुनसहित खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेका छन्। साथै घाइतेको उपचारका लागि १० हजार रुपैयाँ र मृतकको परिवारलाई क्रियाखर्चस्वरूप १० हजार रुपैयाँ नगद समेत सहयोग गरेका छन्।
गत असार २१ गते राति आएको बाढी तथा पहिरोले गैरीगाउँमा ठूलो क्षति पुर्‍याएको थियो। घटनामा घाइते भएकी ४४ वर्षीया रेउली विकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी हाल सुर्खेतमा उपचार भइरहेको छ। बाढीमा घाइते भएकी आनन्दी विकको स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा मृत्यु भएको थियो। घटनाबाट एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो।
बाढीलगत्तै जगदुल्ला गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराएको थियो। त्यसपछि जिल्ला विपद् व्यवस्थापन कमाण्ड पोस्ट तथा जगदुल्ला हाइड्रोपावरले समेत राहत सामग्री वितरण गरिसकेका छन्। अहिले पनि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग आउने क्रम जारी रहेको छ।

तपाईको प्रतिक्रिया