विष्णुप्रसाद देवकोटा डाेल्पा।
भेरी करिडोरअन्तर्गत माथिल्लो डोल्पालाई सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण सिसोल–लाइसिक्याप सडकखण्डको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। दुर्गम भूगोल, कडा चट्टान र वर्षौंदेखिको सडक अभाव झेल्दै आएका माथिल्लो डोल्पावासीका लागि सडक निर्माणको शुभारम्भले नयाँ आशा जगाएको छ।
२०८३ असोज २४ गते स्थानीय मौलिक संस्कृति र परम्पराअनुसार लामा गुरु थिन्लेबाट पूजाआजा गराई सडक निर्माण कार्यको शुभारम्भ गरिएको स्थानीय ङावाङ गुरुले जानकारी दिए। शुभारम्भ कार्यक्रममा डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा दोर्जे, वडा नम्बर १ का जनप्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, स्थानीय समुदाय तथा गाउँका लामाहरूको उपस्थिति थियो।
डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष दोर्जेले सडक निर्माणलाई माथिल्लो डोल्पाको सहज पहुँच, समृद्धि र उज्ज्वल भविष्यसँग जोडिएको साझा सपना भएको बताए। उनले ऐतिहासिक पहललाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै निर्माण कार्यलाई सार्थक परिणाममा पुर्याउनुपर्नेमा जोड दिए।
सात दिनसम्मको पैदल यात्रा अन्त्य हुने अपेक्षा
उत्तरी सीमासँग जोडिएका माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिक सडक अभावका कारण जिल्ला सदरमुकाम दुनैसम्म पुग्न एक सातासम्म पैदल यात्रा गर्न बाध्य छन्। भौगोलिक विकटताका कारण यहाँका नागरिकले सामान्य आवागमनदेखि स्वास्थ्य उपचार, शिक्षा, व्यापार र अन्य अत्यावश्यक सेवासम्म पहुँच बनाउन कठिनाइ भोग्दै आएका छन्।
सिसोल–लाइसिक्याप सडक निर्माण अघि बढेमा माथिल्लो डोल्पावासीको आवागमन सहज हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण र आधारभूत सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। तर, सडकको औपचारिक शुभारम्भले मात्रै वर्षौंदेखिको समस्या समाधान हुँदैन। निर्माणले निरन्तरता पाउनु र तोकिएको समयमै सम्पन्न हुनु नै स्थानीयवासीका लागि वास्तविक उपलब्धि हुनेछ।
३१० किलोमिटर लामो भेरी करिडोर, व्यापारको सम्भावित मार्ग
सुर्खेतदेखि डोल्पाको उत्तरी सीमास्थित नेपाल–चीनको मरिम नाकासम्म जोडिने भेरी करिडोरको कुल लम्बाइ करिब ३१० किलोमिटर छ। सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको मरिम नाकासम्म पुग्ने यो सडकलाई नेपाल, भारत र चीनबीचको व्यापार तथा पारवहन सहज बनाउन सक्ने सम्भावनायुक्त मार्गका रूपमा हेरिएको छ।
दुनैदेखि मरिम नाकासम्मको खण्ड करिब १०० किलोमिटर छ। लाइसिक्यापदेखि मरिमसम्मको करिब ७५ किलोमिटर सडकखण्डमध्ये नेपाली सेनाले हालसम्म ४० किलोमिटर सडक कटान गरिसकेको छ। असोज २४ गते सिसोलदेखि लाइसिक्यापसम्मको झण्डै ३५ किलोमिटर सडक निर्माणको काम नेपाली सेनाले औपचारिक रूपमा शुभारम्भ गरेको हो।
यस मार्गको विस्तारले दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नुका साथै जडीबुटी, स्थानीय उत्पादन, पर्यटन र सीमापार व्यापारका सम्भावनालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।
तल्लो खण्डको ढिलाइ र कडा चट्टान मुख्य चुनौती
भेरी करिडोरअन्तर्गत दुनै–धो खण्डको करिब ५० किलोमिटर क्षेत्रमा कडा चट्टान विस्फोट गराएर सडक निर्माण गर्नुपर्ने चुनौती छ। दुर्गम भूगोल र कठिन चट्टानी संरचनाका कारण सडक निर्माण सहज छैन। अर्कोतर्फ, दुनैदेखि लाइसिक्यापसम्मको सडक निर्माणमा भएको ढिलाइले माथिल्लो डोल्पातर्फको सडक विस्तारमा समेत प्रत्यक्ष असर पारेको छ।
दुनै–लाइसिक्याप सडक निर्माणको जिम्मेवारी सूर्य–श्रेया–शान्ति देवी जेभीले लिएको छ। तल्लो खण्डको निर्माणले गति नलिँदासम्म माथिल्लो खण्डमा सडक विस्तार भए पनि त्यसको पूर्ण लाभ नागरिकले सहज रूपमा लिन कठिन हुने देखिन्छ।
त्यसैले निर्माणको जिम्मेवारी पाएका निकाय, नेपाली सेना र सम्बन्धित सरकारी कार्यालयबीच प्रभावकारी समन्वय आवश्यक छ। कठिन भूगोललाई कारण देखाएर वर्षौंदेखि नागरिकले भोग्दै आएको सास्तीलाई निरन्तरता दिनु हुँदैन।
शुभारम्भलाई उपलब्धिमा बदल्ने जिम्मेवारी
जडीबुटीको प्रचुर सम्भावना बोकेको डोल्पामा भेरी करिडोरको निर्माणले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र सीमापार व्यापारका नयाँ अवसर खोल्न सक्छ। तर, यी सम्भावना व्यवहारमा उतार्न सडक निर्माणको गति बढाउनु, बजेट तथा प्राविधिक व्यवस्थापन प्रभावकारी बनाउनु र निर्माणको नियमित अनुगमन गर्नु अपरिहार्य छ।
सिसोल–लाइसिक्याप सडक निर्माणको शुभारम्भ माथिल्लो डोल्पावासीका लागि आशाको नयाँ ढोका हो। अब यसलाई औपचारिक कार्यक्रममै सीमित नराखी समयमै निर्माण सम्पन्न हुने सुनिश्चितता गर्नु सम्बन्धित निकायको प्रमुख दायित्व हो।

डोल्पा न्यूज । २४ आश्विन २०८३, शनिबार २१:२४