
विष्णुप्रसाद देवकोटा
डोल्पा,असाेज २२ गते । हिमालको काखमा खेर गइरहेको बहुमूल्य जडीबुटीलाई डोल्पामै प्रशोधन गरेर विश्वबजारसम्म पुर्याउने अभियानले यतिबेला नयाँ उचाइ लिएको छ। ठुलीभेरी नगरपालिका–३, दुनै मेहलसेरामा सञ्चालित दिपेश प्रशोधित शिलाजित उद्योगले डोल्पाको प्राकृतिक सम्पदालाई आर्थिक सम्भावनामा बदल्दै शिलाजितको बजार नेपालदेखि अमेरिका, बेलायत, क्यानडा र भारतसम्म विस्तार गरेको छ।
उद्योगका सञ्चालक जीतेन्द्र शाहीले करिब १० वर्षको अध्ययन तथा अनुसन्धानपछि शिलाजित प्रशोधन व्यवसायमा प्रवेश गरेको बताए। अहिले उद्योगले उत्पादन गर्ने शिलाजितको माग यति तीव्र बनेको छ कि उत्पादन बढाउँदा समेत बजारको माग पूरा गर्न कठिन भइरहेको उनको भनाइ छ।
“सुरुमा वार्षिक पाँच क्विन्टल प्रशोधित शिलाजित उत्पादन गर्ने लक्ष्य थियो। तर उत्पादन बढाएर १० क्विन्टल पुर्याउँदा पनि माग धान्न मुस्किल भइरहेको छ। अहिले त माग पूरा गर्न सकिँदैन कि भन्ने चिन्ता हुन थालेको छ,” सञ्चालक शाहीले भने।
उद्योगले वार्षिक करिब एक करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ। डोल्पाको शिलाजितलाई स्थानीय कच्चा पदार्थका रूपमा मात्र नभई प्रशोधन, परीक्षण र बजारीकरणमार्फत मूल्य अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा पुर्याइएको उद्योगको दाबी छ।
शाहीका अनुसार उद्योगबाट उत्पादित शिलाजितको अमेरिकामा प्रयोगशाला परीक्षण गरिएको छ।
बेलायत, लण्डन, क्यानडा र भारतको गुजरातसम्म शिलाजितकाे बजार विस्तार भएको छ भने नेपालका अधिकांश प्रमुख शहरमा समेत यसको माग रहेको उनले बताए।
“डोल्पाको जडीबुटी डोल्पामै प्रशोधन गरेर विश्वबजारमा पुर्याउने हाम्रो उद्देश्य हो। गुणस्तर कायम राख्दै बजार विस्तार गरिरहेका छौँ। विदेशबाट समेत माग आउन थालेपछि डोल्पाको शिलाजितको सम्भावना अझ ठूलो देखिएको छ,” शाहीले भने।
डोल्पाको जडीबुटी, डोल्पाकै मूल्य
दिपेश उद्योगले शिलाजितसँगै यार्सागुम्बा, कुटकी, जंगली च्याउ, जंगली लसुन र महलगायत हिमाली क्षेत्रमा पाइने बहुमूल्य उत्पादनको प्रशोधन तथा बजारीकरण गर्दै आएको छ।
डोल्पाको पहाड र हिमालमा पाइने जडीबुटी वर्षौँदेखि कच्चा पदार्थकै रूपमा बाहिरिँदै आएको अवस्थामा स्थानीयस्तरमै प्रशोधन उद्योग सञ्चालन हुनु आफैँमा महत्वपूर्ण उपलब्धि हो। यसले स्थानीय स्रोत, सीप, श्रम र उद्यमलाई एउटै ठाउँमा जोडेर कच्चा जडीबुटीलाई मूल्यवान् उत्पादनमा रूपान्तरण गर्ने बाटो देखाएको छ।
शिलाजितलाई स्वास्थ्यका लागि उपयोगी हुने प्राकृतिक पदार्थका रूपमा प्रयोग गरिँदै आएकाे र क्यान्सर राेग समेतमा यसकाे प्रयाेग गरिने संचालक शाहीकाे भनाई छ ।
डोल्पाको शिलाजित अहिले हिमाली भिरपाखाको उत्पादनमा मात्र सीमित छैन—दुनैबाट प्रशोधित भएर देशका बजार हुँदै विदेशी उपभोक्तासम्म पुगिरहेको छ। स्थानीय प्राकृतिक सम्पदालाई उद्यममा बदल्ने दिपेश उद्योगको प्रयासले डोल्पाको जडीबुटी अर्थतन्त्रका लागि नयाँ सम्भावनाको ढोका खोल्दै गएको पाइन्छ ।
डोल्पाको शिलाजितले जित्दै विश्वबजार : माग धान्नै नसक्ने अवस्थामा ‘दिपेश उद्योग’
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २२ आश्विन २०८३, बिहीबार २१:११