ताजा समाचार

सुर्खेत यातायात कार्यालयमा एकै ठाउँबाट सेवा, सेवाग्राहीको दौडधुप घट्ने

सुर्खेत — यातायात व्यवस्था कार्यालय, सुर्खेतमा सेवाग्राहीले यातायातसम्बन्धी विभिन्न सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्ने एकल बिन्दु सेवा प्रवाह प्रणाली शुभारम्भ गरिएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले  एक कार्यक्रमबीच एकल बिन्दु सेवा प्रवाह प्रणालीको शुभारम्भ गर्नुभएको हो।
प्रणाली सञ्चालनमा आएसँगै सवारी दर्ता, नवीकरण, चालक अनुमतिपत्रलगायत यातायातसम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालयका विभिन्न शाखा तथा कक्षमा पटक–पटक धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
कार्यालयका अनुसार सेवा प्रवाहलाई सरल, सहज, छिटो र प्रभावकारी बनाउन एकल बिन्दु सेवा प्रणाली लागू गरिएको हो। यसबाट कार्यालयको सेवा प्रक्रिया थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बन्ने विश्वास गरिएको छ।
एकै स्थानबाट सेवा लिन सकिने भएपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै कार्यालयमा हुने भीडभाड, अनावश्यक दौडधुप र झन्झटसमेत कम हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिककेन्द्रित बनाउने उद्देश्यअनुसार यातायात क्षेत्रमा सुधारका प्रयास अघि बढाएको जनाएको छ।

सुर्खेतमा सुरु गरिएको एकल बिन्दु सेवा प्रणालीलाई यातायात सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया