विष्णुप्रसाद देवकोटा
डोल्पा — डोल्पामा मोतीबिन्दु भएका तथा आँखासम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गरी यही भदौ १७ गतेदेखि २४ गतेसम्म विभिन्न स्थानमा मोतीबिन्दु छनोट आँखा शिविर सञ्चालन हुने भएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, उपशाखा त्रिपुराकोटको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका, च्यारिटी हेल्थ फाउण्डेसन धनगढी र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा त्रिपुरासुन्दरीका ११ वटै स्वास्थ्य संस्थामा शिविर सञ्चालन गर्न लागिएको हो।
तालिकाअनुसार भदौ १७ गते आधारभूत स्वास्थ्य केन्द्र, रिस, १८ गते आधारभूत स्वास्थ्य केन्द्र, रुम, २० गते आधारभूत स्वास्थ्य केन्द्र, रङ, २१ गते स्वास्थ्य चौकी, सूँ, २२ गते स्वास्थ्य चौकी, पहाडा, २३ गते भगवती आधारभूत विद्यालय, छुल र २४ गते त्रिपुराकोट स्वास्थ्य चौकी, त्रिपुराकोटमा आँखा परीक्षण तथा मोतीबिन्दु छनोट गरिनेछ।
शिविरमा नाम दर्ता बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म गरिने जनाइएको छ।
छनोट भएका मोतीबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भदौ २५ गते त्रिपुराकोट स्वास्थ्य चौकीमा गरिने त्रिपुरासुन्दरी स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए ।
आयोजकले आँखामा समस्या भएका नागरिकलाई निर्धारित मिति र स्थानमा उपस्थित भई आँखा परीक्षण गराउन आग्रह गरेको छ।

डोल्पा न्यूज । ४ भाद्र २०८३, बिहीबार १३:५२