विष्णुप्रसाद देवकोटा
डोल्पा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ७६ वटा मुद्दामध्ये ५० वटा मुद्दाको फैसला गरेको छ भने २६ वटा मुद्दा अझै विचाराधीन रहेका छन्।
अदालतको तथ्यांकअनुसार सबैभन्दा धेरै सम्बन्ध विच्छेदका १७ वटा मुद्दा दर्ता भएका छन्। त्यसपछि बैंकिङ कसूरका १४, जबरजस्ती करणीका ७, चेक अनादरका ७, लागुऔषधका ६, दुःख दिने, अंश, खर्च तथा दृष्टिबन्धकसम्बन्धी ५, सवारी ज्यान तथा अंगभंगका ४, लेनदेनका ४, ज्यानमार्ने उद्योगका ३, बहुविवाहका २, अभद्र व्यवहारका २, तथा नाता कायम, आपराधिक प्रवेश र हातहतियार–खरखजानासम्बन्धी एक–एक वटा मुद्दा रहेका छन्।जिल्ला अदालत डाेल्पाले गरेकाे बार्षिक कार्य सम्पादनकाे प्रगति समिक्षात्मक कार्यक्रममा उक्त जानकारी गराइएको हाे ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रदेव भारतीले सबैभन्दा बढि सम्बन्ध विच्छेदका घटनाहरु आउने गरेकाे बताए ।सम्बन्ध विच्छेद घटनामा महिला तर्फ सजिलाे भएपनि पुरुष तर्फ भने झनझटिलाे रहेकाे खुलासा गर्दै पुरुषले चाहेर पनि सम्बन्ध विच्छेद हुननसक्ने बताए ।
जिल्ला अदालतले कारागारको अवस्था, कैदीबन्दीको अधिकार तथा न्यायिक व्यवस्थाको प्रभावकारिता अनुगमन गर्न महिनामा दुई पटक वैतनीक वकिलद्वारा कारागार अनुगमन गर्दै आएको समेत जनाएको छ।
फैसला कार्यान्वयनतर्फ अदालतमा जेठ महिनासम्म १२ वटा निवेदन दर्ता भएकोमा ४ वटा फछ्र्योट गरिएको र ८ वटा निवेदन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, कैद, जरिवाना र सरकारी बिगो असुलीको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा २५ वर्ष ५ महिना १२ दिन बराबरको नयाँ कैद सजाय थपिएको छ।

यस अवधिमा ३ लाख ८० हजार रुपैयाँ जरिवाना तथा १४ लाख ७७ हजार ८५२ रुपैयाँ २९ पैसा सरकारी बिगो असुल भएको अदालतले जनाएको छ।अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी विदुर प्रसाद काेइरालाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कार्यप्रगती विवरण र मुद्दा फर्स्याैटकाे अवस्था लगायतका विषयमा प्रकाश पारेका थिए ।
दण्ड–जरिवाना लागेका व्यक्तिको विवरणअनुसार आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्म ५४ जनाको लगत कायम भएकोमा १४ जनाको फछ्र्योट भएको छ भने ४० जनाको लगत अझै बाँकी रहेको अदालतको मासिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

अदालतका अनुसार फैसला कार्यान्वयनको प्रभावकारिता बढाउन, कैद तथा जरिवाना असुलीलाई तीव्र बनाउन र बाँकी रहेका मुद्दाको समयमै टुंगो लगाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

डोल्पा न्यूज । २६ असार २०८३, शुक्रबार १७:००