विष्णुप्रसाद देवकोटा
डोल्पा।
डोल्पाका दुई स्थानीय तह छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत योजना तथा कार्यक्रमहरूको भुक्तानी कार्य सम्पन्न भएको जानकारी सार्वजनिक गरेका छन्।
छार्का ताङसोङ गाउँपालिकाले साउन २८ गते जारी सूचनामार्फत आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत योजना तथा कार्यक्रमअन्तर्गत प्राप्त सबै भुक्तानीसम्बन्धी कारोबार सम्पन्न भएको जनाएको छ। पालिकाले योजना तथा बजेट निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, राष्ट्रसेवक, उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजप्रति आभार व्यक्त गरेको छ।
पालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि विकास निर्माण तथा बजेट कार्यान्वयनमा सबै पक्षबाट सक्रिय सहभागिता, समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ।
छार्का ताङसोङ गाउँपालिकाका अनुसार चालु खर्चतर्फ ७०.६८ प्रतिशत, पुँजीगत खर्चतर्फ ६९.४५ प्रतिशत र आकस्मिक खर्चतर्फ ७०.०४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।
यस्तै काइके गाउँपालिकाले पनि साउन २६ गते सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ का सबै कार्यक्रम सम्पन्न गरी खर्च विवरण सार्वजनिक गरेको जनाएको छ।
पालिकाले जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समिति, विकास साझेदार तथा काइकेवासी नागरिकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सार्वजनिक जानकारीका लागि खर्च विवरण प्रकाशन गरेको उल्लेख गरेको छ।
काइके गाउँपालिकाको विवरणअनुसार चालु खर्च ७३.६६ प्रतिशत, पुँजीगत खर्च ६८.७६ प्रतिशत तथा कुल बजेट खर्च ७०.५१ प्रतिशत रहेको छ।
आर्थिक वर्ष समाप्तिपछि खर्च तथा भुक्तानी विवरण सार्वजनिक गर्दै दुवै गाउँपालिकाले वित्तीय पारदर्शिता र सार्वजनिक जवाफदेहितालाई जोड दिएका छन्।
डोल्पाका दुई पालिकाकाे आर्थिक वर्षको भुक्तानी, खर्च विवरण सार्वजनिक
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २६ असार २०८३, शुक्रबार १४:०८