
विष्णुप्रसाद देवकोटा
डोल्पा।
डोल्पामा शुक्रबार बिहान यात्रु बोकेको नगर बस दुर्घटनाबाट बालबाल जोगिएको छ।
बागमती प्रदेश ०३–००१ ख ४९३३ नम्बरको नगर बस शुक्रबार बिहान करिब १०ः४५ बजे त्रिपुरासुन्दरी–जुफालबाट सदरमुकाम दुनैतर्फ आउँदै गर्दा ठूलीभेरी नगरपालिका–८ पारङग नजिकको नर्सरी क्षेत्रमा सडकको लेन बाहिर गएर अड्किएको हो।
बसमा चालकसहित ४२ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बस सडकबाट बाहिरिए पनि ठूलो दुर्घटना हुन नपाउँदा सबै यात्रु सकुशल रहेको बताइएको छ।बस ओमप्रसाद राेकायाले चलाएकाे बुझिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले घटनाकाे वास्तविक अवस्था बुझ्न ट्राफिक र जनपद प्रहरी परिचालन गरिएकाे बताएकी छन । प्रारम्भिक सुचना अनुसार चालकले तीव्र गतिमा बस चलाएका कारण बस नियन्त्रण बाहिर गई सडकको लेन छाडेर अड्किएको स्थानीयको भनाइ छ। घटनापछि केही समय सडक आवागमन प्रभावित भएको थियो।
घटनाबारे प्रहरीको थप अनुसन्धान जारी रहेको छ। बस कसरी सडकबाट बाहिरियो, चालकको लापरबाही थियो वा अन्य प्राविधिक कारण थियो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ।

डोल्पा न्यूज । २६ असार २०८३, शुक्रबार ११:२०