ताजा समाचार

डोल्पामा स्याक नेपालको काम अलपत्र, विद्यालयका शौचालय अधुरै

विष्णुप्रसाद देवकोटा
डोल्पा।
डोल्पा जिल्लामा समाज जागरण केन्द्र (स्याक नेपाल), सुर्खेतद्वारा निर्माण थालिएका विद्यालयका शौचालयहरू अधुरै छाडिएको पाइएको छ। त्रिपुरासुन्दरी नगरपालिकाको मष्टा आधारभूत विद्यालय (ल्हाँ), मुकुटेश्वर माध्यमिक विद्यालय (फुल्चिङ), प्रकाश आधारभूत विद्यालय (रङ्ग), बलभद्र आधारभूत विद्यालय (रसी) लगायतका विद्यालयमा निर्माण सुरु भएका शौचालयहरू लामो समयदेखि अलपत्र अवस्थामा छन्। अधुरा संरचनाका कारण विद्यार्थी, विशेषगरी किशोरीहरू, दैनिक रूपमा सास्ती खेप्न बाध्य भएका छन्।
स्याक नेपालले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सन् २०२४ नोभेम्बरदेखि डोल्पाको ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाभित्रका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थामा किशोरी सशक्तीकरण परियोजना सञ्चालन गर्दै आएको थियो। परियोजनाको अवधि सन् २०२७ सम्म रहने तय भए पनि सहयोगी निकायले बीचमै सम्झौता अन्त्य गरेपछि अधिकांश गतिविधि ठप्प भएका छन्।
विश्वसनीय स्रोतका अनुसार, परियोजना सञ्चालनको गुणस्तर, व्यवस्थापन र केही कार्यक्रमको वित्तीय पारदर्शितामाथि प्रश्न उठेपछि सहयोगी संस्था प्लान इन्टरनेशनल नेपालले स्याक नेपालसँगको सहकार्य अन्त्य गरेको हो। यद्यपि यसबारे सम्बन्धित निकायबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।
सम्झौता टुटेपछि विद्यालय, स्वास्थ्य संस्था र समुदायमा सञ्चालित विभिन्न कार्यक्रमसँगै निर्माणाधीन पूर्वाधार पनि अलपत्र परेका छन्। अधुरा शौचालयका कारण विद्यालयमा सरसफाइ तथा सुरक्षित शौचालयको पहुँच प्रभावित भएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार, आगामी दिनमा अर्को संस्थाले परियोजनाको जिम्मेवारी लिए पनि पुराना अधुरा संरचना र रोकिएका गतिविधि कसरी पूरा हुन्छन् भन्ने अन्योल कायमै छ। नयाँ कार्यान्वयनकर्ताले नयाँ ढाँचाबाट काम सुरु गरे अधुरा संरचनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ।
स्याक नेपालको प्रधान कार्यालय सुर्खेतमा भए पनि परियोजना कार्यालय भने सदरमुकाम दुनैमा सञ्चालन हुँदै आएको थियो। स्थानीय सरोकारवालाहरूका अनुसार कर्मचारी व्यवस्थापनदेखि निर्णय प्रक्रिया अधिकांश सुर्खेतबाटै सञ्चालन हुँदा स्थानीय आवश्यकताअनुसार प्रभावकारी कार्यसम्पादन हुन नसकेको देखिएको छ।
यस विषयमा स्याक नेपालको आधिकारिक धारणा लिन संस्थाको टोल–फ्री नम्बर १६६०8३५२००२ मा सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको पाइयो। सम्बन्धित निकायको प्रतिक्रिया प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।

तपाईको प्रतिक्रिया