ताजा समाचार

डाेल्पामा सामूहिक प्रतिबद्धता र नयाँ ऊर्जा सहित बालविवाह विरुद्ध साझा अभियान सञ्जाल

विष्णुप्रसाद देवकोटा 

डोल्पामा बालविवाह न्यूनीकरणका लागि सक्रिय “बालविवाह विरुद्धको साझा अभियान सञ्जाल”को बैठक सम्पन्न भएको छ। जिल्लाका विभिन्न सामाजिक संस्था, कानुनी निकाय तथा सरोकारवालाहरूको उल्लेख्य सहभागितामा सम्पन्न बैठकले अभियानलाई थप सशक्त, संगठित र परिणाममुखी बनाउने निर्णय गरेको छ।

उपाध्यक्ष चन्द्ररुप रोकाया (क्याकमा), अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष मायाकुमारी ठकुल्ला, नेपाल बार एशोसिएसनका प्रतिनिधि पूर्ण हमाल, घनश्याम उपाध्यायलगायतले बालविवाह नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयास, कार्यविधि, चुनौती र आगामी रणनीतिबारे धारणा राखेका थिए।

अभियानकर्मीको आवाजलाई अझ सशक्त बनाउँदै समुदाय तहसम्म गहिरो प्रभाव पार्ने गरी समन्वयात्मक, सामूहिक र संगठित ढंगले अघि बढ्नुपर्नेमा सहभागीले जाेड दिएकाे कर्णाली प्रदेश सदस्य रणबहादुर कार्कीले जानकारी दिए ।

 जिल्ला कानुनी सहायता समिति, डोल्पा जिल्ला बार, अन्तरपार्टी महिला सञ्जाल तथा एमडिआई संस्थालाई सञ्जालको सदस्यता प्रदान गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको समेत कार्कीले बताए। सञ्जाल सदस्य विस्तारलाई प्राथमिकतामा राख्दै अभियानलाई व्यापक बनाउने प्रतिबद्धता सहभागीले जनाएका छन।

अभियानकर्मीहरूका लागि आवश्यक आचारसंहिता तयार गरी सबै पदाधिकारीबाट सर्वसम्मत स्वीकृत गरिनुका साथै तत्काल प्रभावकारी रूपमा पालना गर्ने निर्णयसमेत बैठकले गरेकाे  छ।आगामी दिनमा अनुशासन, शालीनता र उत्तरदायित्वलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिनु पर्नेमा सहभागीले जाेड दिएका थिए ।

नेपालको प्रचलित कानुनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु वा गराउनु दण्डनीय अपराध हो। मुलुकी अपराध संहिता, २०७४ ले बालविवाहलाई कडाइका साथ निषेध गरेको छ, जसअनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई कैद तथा जरिवानाको व्यवस्था छ।

तर, परम्परा र संस्कृतिका नाममा अझै कतिपय समुदायमा बालविवाहको अभ्यास कायम रहनु चुनौतीको विषय बनेको छ। बालविवाह रोकथाम केवल कानुनी दायित्व मात्र नभई सामाजिक उत्तरदायित्व समेत भएको उल्लेख गर्दै सबै पक्षको सक्रिय सहभागिता, जवाफदेहिता र निरन्तर प्रयास अपरिहार्य रहेको निष्कर्ष बैठकले  निकालेको छ।

अभियानकर्मीहरूले “संस्कारका नाममा हिंसा स्वीकार्य छैन” भन्ने स्पष्ट सन्देश दिँदै डोल्पालाई बालविवाहमुक्त जिल्ला बनाउने लक्ष्यसहित अगाडि बढ्ने प्रतिबद्धता सहभागीले जनाएका छन्।

ठुलिभेरीनगरपालिका नगरन्यायिक समितिकाे कार्यालय दुनैमा बसेकाे बैठकममा उपप्रमुख छिरिङ टाेल्मा महत जिल्ला बारका सचिव पुर्ण हमाल कानुनी सहायाता समितिका प्रथिनिधि घनश्याम उपाध्याय साझा सन्जाल अभियान प्रदेश सदस्य रणबहादुर कार्की अन्तरपाटी महिला सन्जाल अध्यक्ष मायाकुमारी ठकुल्ला लगायत संचारकर्मीहरुकाे उपस्थिति थियाे ।

तपाईको प्रतिक्रिया