विष्णुप्रसाद देवकोटा
हिमाली जिल्ला डाेल्पामा एक समय अनुदानकै लोभमा धमाधम खुलेका उद्योगहरू पछिल्लो समय राज्यको नीतिगत उदासीनताका कारण बन्द हुन थालेका छन्।
वर्षनी नवीकरण लगायत करचुक्ता गर्नु पर्ने बाध्यात्मक ब्यवस्था तर कुनै सहुलियत नपाएपछि उद्यमी र कृषकहरू उद्योग खारेजी गर्न थालेका हुन ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार २८० उद्योग दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ मा ६१ वटा नयाँ उद्योग दर्ता हुँदा १५० उद्योगले नवीकरण गरेका छन्।
तर, यही अवधिमा २३ उद्योग खारेज भएका छन् भने गत वर्षका १८ सहित कुल ४१ उद्योग बन्द भएका छन्।उद्योग उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख निरज घिमिरेले कार्यालयले चालु वर्षमा कुल ९ लाख ४६ हजार १६० रुपैयाँ राजश्व संकलन गरेको बताए।
जसमध्ये दर्ता लगायतबाट ८ लाख ५३ हजार ४ सय, निवेदन वापत १९ हजार ४ सय, मेसिन औजार बिक्रीबाट ४२ हजार र उत्पादित सामान बिक्रीबाट ३१ हजार ३६० रुपैयाँ उठेको छ।
विगतमा विभिन्न सरकारी निकाय र स्थानीय तहबाट उपलब्ध अनुदानका कारण उद्योग खोल्ने लहर चलेको तर अहिले त्यस्ता कार्यक्रमहरू बन्द हुन थालेपछि उद्यमीहरू आर्थिक भार थेग्न नसकेर उद्योग बन्द गर्न बाध्य भएकाे निमित्त प्रमुख घिमिरे बताउछन्।
वर्षेनी कर चुक्ता, नवीकरण र प्रशासनिक प्रक्रियामा खर्च बढ्दै जानु तर कुनै प्रतिफल नआउँदा व्यवसायीहरू भने निराश बनेका छन्। सरकारकाे नीतिगत अस्थिरताले उद्योग खोल्न प्रेरित गर्नेभन्दा बन्द गर्न बाध्य पार्ने अवस्था सिर्जना गरेको देखिन्छ।
सरकारले उद्यमशीलता प्रवर्द्धनको नारा दोहोर्याइरहे पनि व्यवहारमा सहुलियत र सहयोग अभाव हुँदा स्थानीय स्तरका उद्योगहरू टिक्न नसक्ने अवस्था झन् गम्भीर बन्दै गएको हाे।

डोल्पा न्यूज । १८ चैत्र २०८२, बुधबार ०८:०३