विष्णुप्रसाद देवकोटा
डोल्पा।माथिल्लो डोल्पाका स्थानीय भेटेनरी प्राविधिकहरुलाई वन्यजन्तुमा लाग्ने तथा सर्ने विभिन्न रोगहरुको पहिचान, नियन्त्रण र उपचारसम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको छ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज सुलिगाड र डिभिजन वन कार्यालय डाेल्पाको संयुक्त आयोजनामा तथा विश्वबन्यजन्तु काेष नेपाल (डब्लुडब्लु एफ नेपाल)को आर्थिक सहयोगमा चैत १३ देखि १७ गतेसम्म सञ्चालन भएको उक्त तालिम सम्पन्न भएको हो।
तालिममा वन्यजन्तुमा देखिने खुरपका–मुखपका, रेबिज, एन्थ्र्याक्स, परजीवीजन्य संक्रमणलगायत रोगहरुको पहिचान, रोकथाम र उपचार विधिबारे सहभागीहरुलाई व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिइएको थियो।
निकुञ्जको तर्फबाट १५ जना र डिभिजन वन कार्यालयको तर्फबाट २ जना गरी जम्मा १७ जना माथिल्लो डोल्पाका भेटेनरी प्राविधिकहरुको सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रममा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्याल र वन अधिकृत जितेन्द्र महतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा अर्यालले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै इच्छाशक्ति र निरन्तर प्रयासबाट मात्र दक्षता हासिल हुने बताए।

सुलिगाडस्थित शार्दुल गुल्मका गुल्मपति हरिश शाही तथा डिभिजन वन कार्यालयका प्रमुख महतले समेत वन्यजन्तुमा सर्ने रोग तथा संक्रमण नियन्त्रणमा प्राविधिकहरुको भूमिकालाई महत्त्वपूर्ण भएको बताएका थिए।
५ दिनसम्म सञ्चालन भएको तालिममा पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. साजन रोकायाले सहजीकरण गर्दै प्रशिक्षण दिएका थिए।

डोल्पा न्यूज । १७ चैत्र २०८२, मंगलवार १९:२३