विष्णुप्रसाद देवकोटा
डोल्पा ।जगदुल्ला गाउँपालिका–४ लाई जिल्लाकै पहिलो बालविवाह तथा बालश्रममुक्त वडा घोषणा गरिने भएको छ। आगामी असोज २३ गते बिहान १०ः३० बजे विशेष समारोह आयोजना गरी वडालाई औपचारिक रूपमा घोषणा गर्न लागिएको हो।
“बालमैत्री र समतामूलक समाज जगदुल्लाको सानः बालविवाह र बालश्रममुक्त पालिकाको अभियान” भन्ने मूल नाराका साथ घोषणा समारोह आयोजना गर्न लागिएको हो।
बालविवाह रोकथामका लागि जगदुल्ला गाउँपालिकालाई आवधिक रणनीतिक योजना निर्माण गर्न सहजीकरण गरी पालिका अध्यक्षलाई हस्तान्तरण गरिएको १ हजार १८५ दिनपछि वडा नं. ४ बालविवाह र बालश्रममुक्त घोषणा हुन लागेको हो।
यो घोषणा कर्णाली प्रदेशको ५५औँ बालविवाह तथा बालश्रममुक्त वडा बन्नेछ। जिल्लागत रूपमा भने जगदुल्ला–४ छैटौँ बालविवाहमुक्त वडाका रूपमा स्थापित हुने जनाइएको छ।
बालविवाह र बालश्रम अन्त्यका लागि स्थानीय सरकार, सामाजिक संघसंस्था, नागरिक समाज तथा समुदायको निरन्तर सहकार्य र अभियानको परिणामस्वरूप वडा घोषणाको चरणमा पुगेको हो।
वडा घोषणासँगै जगदुल्ला गाउँपालिकामा बालविवाह रोकथाम तथा बालअधिकार संरक्षणका लागि अझ सशक्त, निरन्तर र एकताबद्ध कदम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
घोषणा समारोहमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, बालबालिका, अभिभावक, शिक्षक तथा सरोकारवालाको सहभागिता रहनेछ।
कार्यक्रममा दलित उत्थान तथा सामाजिक विकास सेवा समिति, विवाहविरुद्ध साझा अभियान सञ्जाल डोल्पा र सामाजिक विकास कार्यालय डोल्पाकाे सहकार्य रहने सामाजिक अभियान्ता रणबहादुर कार्कीले जानकारी गराए ।
डोल्पाको जगदुल्ला–४छांचु पहिलो बालविवाह–बालश्रममुक्त वडा बन्दै
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २० आश्विन २०८३, मंगलवार २०:१६