विष्णुप्रसाद देवकोटा
डोल्पा — डोल्पाको प्रसिद्ध शक्तिपीठ श्री बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आयोजना हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। महायज्ञको मिति नजिकिँदै जाँदा मन्दिर व्यवस्थापन समिति तथा आयोजक पक्षले भौतिक, धार्मिक, व्यवस्थापकीय र प्रचारप्रसारका कामलाई तीव्रता दिएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरको भौतिक पूर्वाधार विकास, सर्वाङ्गीण विकास र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भाद्र १५ देखि २२ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञमा विश्वशान्तिको कामनासहित धनधान्याचल, पितृमोक्ष, शालग्राम पूजार्चना तथा डोल्पा जिल्लामै पहिलोपटक श्रृङ्गारिक महाआरती लगायतका विशेष धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। युवा पण्डित ईश्वर रेग्मीबाट भागवत कथा प्रवचन तथा राष्ट्रिय कलाकारहरूबाट भजन–कीर्तन, झाँकी र नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ।
महायज्ञको पहिलो दिन भाद्र १५ गते बिहान यज्ञमण्डप स्थापना गरी बिहान ११ बजे शोभा तथा शान्ति कलश यात्रा निकालिनेछ। सोही दिन दिवाकालीन समयमा उद्घाटन कार्यक्रम आयोजना गरिनेछ।
भाद्र १६ देखि २१ गतेसम्म दैनिक बिहान ६ः३० देखि ८ः३० बजेसम्म नित्य पूजापाठ, ८ः३० देखि ११ः३० बजेसम्म श्रीमद् भागवत पाठ पारायण तथा शालग्राम पूजार्चना हुनेछ। दिउँसो १२ देखि ४ बजेसम्म संगीतमय कथा प्रवचन, भजन–कीर्तन, झाँकी, नृत्य तथा प्रसादी वितरण गरिनेछ भने साँझ ७ बजेदेखि राति १० बजेसम्म कथा प्रवचन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
महायज्ञअन्तर्गत भाद्र १९ गते भगवान् श्रीराधाकृष्णको मूर्तिको प्राणप्रतिष्ठा गर्ने विशेष कार्यक्रम राखिएको छ। भाद्र २२ गते पूर्णाहुति तथा यज्ञ विसर्जन गरिनेछ।
महायज्ञमा श्रद्धालुका लागि तुलादान, भूमिदान, पितृका नाममा दान, चौरासी पूजा, ब्राह्मण भोजन, प्रसादी वितरण, विवाह, ग्रहशान्ति, सत्यनारायण पूजा तथा लक्ष्यवर्ती पूजा लगायतका धार्मिक सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
योगदानअनुसार दातालाई विशेष सम्मान
महायज्ञलाई सफल बनाउन सहयोग गर्ने दानदातालाई योगदानअनुसार सम्मानको व्यवस्था गरिएको छ। रु. १० हजारदेखि माथि सहयोग गर्ने दाताको नाम शिलालेखमा राखिने, रु. २० हजारदेखि माथि सहयोग गर्नेलाई थप सम्मानसहित पञ्चेबाजाबाट सम्मान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी रु. ५० हजारदेखि माथि सहयोग गर्ने दातालाई उक्त दिनको सभानायक घोषणा गरी स्थानीय बजार परिक्रमा गराउने तथा रु. एक लाखभन्दा माथि सहयोग गर्ने दाताको सपरिवार नाम शिलालेखमा राखी विशेष सम्मान गर्ने तयारी गरिएको छ।
महायज्ञका लागि दातालाई प्रदान गरिने सम्मानपत्र तथा प्रशंसापत्रको तयारीसमेत अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। मन्दिरको सर्वाङ्गीण विकास तथा धार्मिक कार्यमा योगदान पुर्याउने दाता, सहयोगी तथा विभिन्न भूमिकामा रहेर अभियानलाई अघि बढाउने व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिनेछ।
मन्दिर व्यवस्थापन समितिले महायज्ञलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी मन्दिरको भौतिक पूर्वाधार निर्माण, धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय क्षेत्रको समग्र विकासको आधार बनाउने लक्ष्य लिएको जनाएको छ। डोल्पाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा थप उजागर गर्न महायज्ञ महत्वपूर्ण अवसर बन्ने आयोजकको विश्वास छ।
महायज्ञ सम्पन्न गर्न श्री बाला त्रिपुरा सुन्दरी भगवती मन्दिर व्यवस्थापन समिति परिवारको अगुवाइमा विभिन्न उपसमिति तथा स्वयंसेवक परिचालन गरिएको छ। महायज्ञका संयोजक लक्ष्मीकान्त उपाध्याय, व्यवस्थापक तिलकराम शर्मा, अध्यक्ष टंकप्रसाद उपाध्याय, उपाध्यक्ष जयस उपाध्याय, सचिव टिकादत्त न्यौपाने, कोषाध्यक्ष विष्णुप्रसाद न्यौपाने तथा वरिष्ठ सदस्य तुलबहादुर विष्टलगायतको टोली तयारीमा सक्रिय छ। त्रिपुरासुन्दरी नगरपालिका संरक्षकका रूपमा रहेको छ।
आयोजकले श्रद्धालु भक्तजन, दानदाता, संघसंस्था, स्थानीयवासी तथा देश–विदेशमा रहेका शुभेच्छुकलाई महायज्ञमा सहभागी भई धार्मिक तथा सामाजिक अभियानमा सहयोग गर्न आह्वान गरेको छ।
“दान गरौँ, पुण्य कमाऔँ” भन्ने मूल भावनासहित आयोजना हुन लागेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेसँगै त्रिपुराकोटमा धार्मिक चहलपहलसमेत बढ्न थालेको छ। आयोजकका अनुसार अब मन्दिर परिसरको सजावट, यज्ञमण्डप, कलश यात्रा, धार्मिक सामग्री, सम्मानपत्र, अतिथि सत्कार, स्वयंसेवक परिचालन तथा भक्तजन व्यवस्थापनलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
भाद्र १५ देखि २२ गतेसम्म हुने महायज्ञमा देशका विभिन्न स्थानबाट श्रद्धालु तथा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।
डोल्पाको त्रिपुरासुन्दरीमा धार्मिक आस्था र पर्यटन प्रवर्द्धनार्थ महायज्ञको तयारी तीव्र
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ५ भाद्र २०८३, शुक्रबार १४:०५