ताजा समाचार

पशु कार्यालयद्वारा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार : डोल्पाका तीन  कृषक सम्मानित

विष्णुप्रसाद देवकोटा

डाेल्पा।डोल्पामा व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गतको ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ तीन जना नमुना कृषकलाई प्रदान गरिएको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले आयोजना गरेको विशेष समारोहमा जिल्लाका आठवटै स्थानीय तहबाट छनोट गरिएका उत्कृष्ट कृषकलाई नगद पुरस्कार, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो।
यस वर्ष भैंसीपालनतर्फ ठूलीभेरी नगरपालिका–२ का पूर्ण रोकाया प्रथम हुँदै ३० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट सम्मानित भए। बंगुरपालनतर्फ मुड्केचुला गाउँपालिका–६ का जनक सी द्वितीय हुँदै २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला प्राप्त गरे।

त्यस्तै भेडापालनतर्फ मुड्केचुला गाउँपालिका–३ का विष्णु थापा तृतीय हुँदै २० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मानित भए।
कार्यालयले सूचना प्रकाशन गरी आवेदन आह्वान गरेपछि स्थलगत अनुगमन, निरीक्षण तथा मूल्याङ्कनका आधारमा उत्कृष्ट कृषक छनोट गरिएको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले सम्मानित कृषकलाई बधाई दिँदै पुरस्कारलाई थप जिम्मेवारी र प्रेरणाका रूपमा ग्रहण गर्न आग्रह गरे। उनले डोल्पा जडीबुटी, फलफूल तथा पशुपालनका हिसाबले अत्यन्त सम्भावना बोकेको जिल्ला भएकाले कृषिको व्यवसायीकरणमा सबै सरोकारवाला एकजुट हुनुपर्ने बताए।
उनले आगामी वर्षदेखि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाउँदै बढी संख्यामा उत्कृष्ट कृषकलाई सम्मान गर्ने योजना बनाउनुपर्ने धारणा राखे। दुर्गम भूगोल र सञ्चार पहुँचको सीमितताका कारण धेरै कृषक सहभागी हुन नसके पनि सहभागी तथा मूल्याङ्कनमा उत्कृष्ट देखिएका कृषकलाई नमुना कृषकका रूपमा सम्मान गरिएको उनले उल्लेख गरे।

पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख डा. साजन रोकायाले तीन विधामा आवेदन माग गरी स्थलगत निरीक्षण र मूल्याङ्कनपछि उत्कृष्ट कृषक छनोट गरिएको जानकारी दिए। यस्ता पुरस्कारले कृषकलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ थप उत्साहित बनाउने विश्वास व्यक्त गर्दै उनले आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्रम कार्यान्वयन इकाइ) डोल्पाका प्रमुख गोविन्दबहादुर मल्ल, विभिन्न स्थानीय तहका सक्रिय कृषक तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन तथा उद्देश्यबारे पशु अस्पताल तथा पशु सेवा कार्यालयका योजना अधिकृत अक्कलबहादुर सेजुवालले प्रकाश पारेका थिए।

तपाईको प्रतिक्रिया