विष्णुप्रसाद देवकोटा
काठमाडौ। डोल्पामा निर्माणाधीन जगदुल्ला अर्ध–जलाशययुक्त जलविद्युत् आयोजना (१०६ मेगावाट) र जगदुल्ला ‘ए’ अर्ध–जलाशययुक्त जलविद्युत् आयोजना (१२४.३५ मेगावाट) को प्रगति विवरण प्रस्तुत गरिएको छ ।
२०८३ जेठ ६ गते जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठ तथा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको उपस्थितिमा आयोजनाको हालसम्मको प्रगति, निर्माण अवस्था तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरिएको हो ।
कार्यक्रममा मन्त्रालयका प्रतिनिधि, कम्पनीका सञ्चालक समिति सदस्य, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीिसिएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापा, बुढी गण्डकी जलविद्युत कम्पनी का प्रमुख कार्यकारी अधिकृत अरुण रजौरिया, आयोजना प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कर्णाली प्रदेशको डोल्पा मुड्केचुलामा निर्माणाधीन यी दुवै आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
साथै आयोजना निर्माणसँगै सडक, सञ्चार, रोजगारी तथा अन्य पूर्वाधार विकासका कारण स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी सन्जय सापकोटाले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिराज भक्त श्रेष्ठ ले आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन् । निर्माणका क्रममा देखिने समस्या तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले समस्या समाधानमा समेत मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कर्णाली प्रदेशको दुर्गम जिल्ला डोल्पामा ठूला जलविद्युत् आयोजना द्रुत गतिमा अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने कार्यकाे लागि सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे ।

डोल्पा न्यूज । ७ जेष्ठ २०८३, बिहीबार ०५:२३