ताजा समाचार

डाेल्पामा बालविवाहको पीडा: बाटोमै सुत्केरी, नवजातको मृत्यु

विष्णुप्रसाद देवकोटा

डोल्पाको विकट भूगोलसँगै गहिरिँदै गएको सामाजिक समस्याले फेरि एक नवजातको ज्यान लिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७ वर्षीया रशकुमारी केसीले अस्पताल पुग्ने बाटोमै बच्चा जन्माइन्, तर जन्मिएको केहीबेरमै शिशुको मृत्यु भयो।

बुधबार बिहानदेखि सुत्केरी व्यथाले च्यापेपछि उनलाई दुनैस्थित जिल्ला अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी थिइन्। अस्पताल पुर्‍याएपछि परीक्षण गर्दा शिशु मृत अवस्थामा रहेको पुष्टि भयो।

जिल्ला अस्पताल डोल्पाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विदुर तिवारीका अनुसार उनले ३१ हप्तामै ‘प्रि–म्याचुअर’ शिशु जन्माएकी थिइन्। “गर्भावस्थामा नियमित स्वास्थ्य जाँच नहुँदा जोखिम बढेको देखिन्छ,” उनले भने, “आमा अहिले सामान्य अवस्थामा छिन्, तर शिशु जोगाउन सकिएन।”

यो घटना केवल स्वास्थ्य सेवाको अभाव मात्र होइन, बालविवाहको गम्भीर परिणामको रूपमा पनि उभिएको छ। कम उमेरमै विवाह र गर्भधारण हुँदा आमाको शरीर पूर्ण रूपमा विकसित नभएकाले ‘प्रि–म्याचुअर’ जन्म, कम तौल, तथा शिशु मृत्युको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्।

प्रमुख जिल्ला अधिकारी जुनु हमालले उद्धारका लागि हेलिकोप्टरको पहल गरे पनि समयमै सेवा नपुग्दा शिशुको ज्यान जोगाउन नसकिएकोमा दुःख व्यक्त गरिन्। उनले दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था, सडक पहुँच र जनचेतनाको कमीले यस्ता घटना दोहोरिने गरेको उल्लेख गरिन्।

यस घटनाले डोल्पाका दुर्गम बस्तीहरूमा बालविवाह अझै पनि जटिल समस्या रहेको प्रष्ट पारेको छ। केही साताअघि त्रिपुराकोटमा पनि यस्तै घटना दोहोरिएको थियो।

बालविवाह रोकथाम, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, र गाउँस्तरमै सुरक्षित प्रसूति सेवा सुनिश्चित नगरेसम्म यस्ता पीडादायी घटनाले सधै सताई रहने छ नै ।

तपाईको प्रतिक्रिया