विष्णुप्रसाद देवकोटा
डोल्पा।संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ ले डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको बिहीबार स्थलगत अनुगमन गरेका छन्। आयोजनाको प्रगति, निर्माण अवस्था र स्थानीय प्रभावबारे जानकारी लिन मन्त्री श्रेष्ठ हेलिकोप्टरमार्फत आयोजनास्थल पुगेका हुन्।
अनुगमनका क्रममा उनले आयोजनाको निर्माण सम्पन्न कार्यालय तथा आवास भवन, पहुँचमार्गमा निर्माण गरिएको बेलिब्रिज तथा हुरिकोटस्थित ड्याम साइटको अवलोकन गरे। हुरिकोटमा निर्माण सम्पन्न बेलिब्रिजको उद्घाटन मन्त्री श्रेष्ठको उपस्थितिमा वडा नम्बर–१ का अध्यक्ष शेरबहादुर लामाले रिबन काटेर गरेका थिए।

त्यसैगरी, आयोजनाको आवास तथा कार्यालय भवनको उद्घाटन जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले रिबन काटेर गरेका थिए भने मन्त्री श्रेष्ठले ताम्रपत्र अनावरण गरी भवनको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटनपछि उनले कार्यालय, आवास भवन तथा आयोजनास्थलको भौगोलिक अवस्थाबारे विस्तृत जानकारी लिए।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष नारासिंह रोकाया, प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, प्रहरी नायव उपरीक्षक अनिलराज गिरी, नेपाली सेनाका प्रमुख सेनानी हरिश शाही, जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी प्रमुख सञ्जय सापकोटा लगायतसँग आयोजना केन्द्रित अनौपचारिक छलफलसमेत भएको थियो।
छलफलमा मन्त्री श्रेष्ठले जलविद्युत आयोजनाले स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना, पूर्वाधार विकास र स्थानीय नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने बताए।

डोल्पाजस्तो दुर्गम क्षेत्रमा यति ठूलो आयोजना निर्माण हुनु विकासको नयाँ अध्याय भएको उल्लेख गर्दै उनले यसले डोल्पा मात्र नभई समग्र कर्णाली प्रदेशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अनुगमनका क्रममा स्थानीयवासीले मन्त्री श्रेष्ठलाई फूलमाला, अबिर–टीका र रैका लगाएर स्वागत गरेका थिए। स्वागतका क्रममा स्थानीय महिलाले आयोजनामा स्थानीय जनशक्तिलाई उनीहरूको क्षमता अनुसारको काम र उचित पारिश्रमिकसहित रोजगारीको सुनिश्चितता गर्न माग गरेका थिए।
यसअघि मन्त्री श्रेष्ठले डोल्पाकै मुड्केचुला गाउँपालिका–४, इलस्थित आयोजनाको कार्यालय तथा आवास भवनको उद्घाटन गर्नुका साथै सुरुङमार्ग (टनल) निर्माणका लागि पहिलो ब्लास्टिङ कार्यको शुभारम्भ गरेका थिए। यससँगै आयोजनाको मुख्य संरचना निर्माणको चरण औपचारिक रूपमा अघि बढेको छ।

मन्त्री श्रेष्ठसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी पनि डोल्पा पुगेकी थिइन्। मन्त्रालयको उच्च नेतृत्वको संयुक्त भ्रमणलाई आयोजनाको निर्माण कार्यलाई गति दिने र सरकारको प्राथमिकतामा रहेको जलविद्युत विकासप्रतिको प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ।

डोल्पा न्यूज । १८ असार २०८३, बिहीबार २३:००