ताजा समाचार

थोरै जमिन, धेरै उत्पादन : डोल्पामा आधुनिक प्रविधिमा आधारित फुजि स्याउ खेती विस्तार

विष्णुप्रसाद देवकोटा

हिमाली जिल्ला डोल्पामा पछिल्लो समय उच्च घनत्व (हाइ डेन्सिटी) प्रविधिमा आधारित फुजि स्याउ खेती विस्तार हुन थालेपछि किसानमा नयाँ आशा पलाउन थालेको छ । परम्परागत स्याउ खेतीभन्दा फरक आधुनिक प्रविधिबाट थोरै जमिनमै धेरै उत्पादन लिन सकिने भएपछि किसानहरू आकर्षित भएका हुन् ।
इटालीबाट ल्याइएका फुजि जातका बिरुवाबाट सुरु गरिएको यो खेती अहिले डोल्पाका विभिन्न स्थानीय तहमा विस्तार हुँदै गएको छ । उत्पादन, स्वाद, भण्डारण क्षमता र बजार मूल्यका हिसाबले उत्कृष्ट मानिने फुजि स्याउलाई किसानहरूले भविष्यको भरपर्दो आम्दानीको स्रोतका रूपमा लिन थालेका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई कार्यालय डोल्पाले आधुनिक प्रविधिमार्फत किसानको जीवनस्तर उकास्ने लक्ष्यसहित दुई आर्थिक वर्षमा ५ हजार ४ सय बिरुवा वितरण गरेर उच्च घनत्वको फुजि स्याउ खेती विस्तार गरेको हो ।

रोपेको एक वर्षमै उत्पादन दिन थालेपछि किसानहरूको उत्साह झन् बढेको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा जगदुल्ला गाउँपालिका–५ माझगाउँस्थित ओम कृषि फलफूल पशु तथा पोल्ट्री फर्मले ४ रोपनी क्षेत्रफलमा २ हजार बिरुवा रोपेको छ ।

यस्तै, लेकाली पशुपालन तथा जडीबुटी कृषि फर्मले १ हजार २ सय बिरुवा लगाएको छ । यी दुई फर्ममार्फत मात्रै यस वर्ष ३ हजार २ सय बिरुवा रोपिएको हो ।
किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराइएको कार्यालयले जनाएको छ । सबै बिरुवा इटालीबाट खरिद गरेर ल्याइएका हुन् ।

आर्थिक वर्ष २०८१/०८२ मा पनि विभिन्न किसान तथा कृषि फर्महरूले फुजि स्याउ खेती सुरु गरेका थिए । जगदुल्ला गाउँपालिका–१ हुरिकोटका हेमबहादुर महताराले १ हजार १ सय, त्रिपुरासुन्दरी नगरपालिका–४ रंगका प्रकाश ओलीले २ सय ५०, ठूलीभेरी नगरपालिका–८ का धनबहादुर डाँगीले ५ सय तथा विशाल बुढाले ५ सय बिरुवा रोपेका थिए ।

त्यसैगरी, चालु आर्थिक वर्षमा ओमकुमारी भक्रीले २ हजार र हिमाली बुढाले १ हजार ३ सय बिरुवा लगाएका छन् । दुई आर्थिक वर्षमा डोल्पाभर कुल ५ हजार ४ सय बिरुवा रोपिएको कार्यालयको तथ्यांक छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई डोल्पाका प्रमुख गोविन्दबहादुर मल्ल का अनुसार कम जमिनमा धेरै उत्पादन लिन सकिने भएकाले यो खेतीको सम्भावना अत्यन्त राम्रो देखिएको छ । उनका अनुसार इटालियन फुजि स्याउ गुणस्तरीय, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले बजारमा यसको माग उच्च छ ।

अहिले पाइलट कार्यक्रमका रूपमा सुरु गरिए पनि राज्यले पर्याप्त लगानी र सहकार्य गरे डोल्पालाई फुजि स्याउ उत्पादनको हब बनाउन सकिने उनले बताए ।
उच्च घनत्वको खेतीमा परम्परागत बगैंचाभन्दा छिटो उत्पादन लिन सकिन्छ ।

असिनापानीजस्ता प्राकृतिक प्रकोपबाट तुलनात्मक रूपमा कम क्षति हुने, व्यवस्थापन सजिलो हुने र आम्दानी राम्रो हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन् ।
त्रिपुरासुन्दरी नगरपालिका–४ रंगस्थित लेकाली पशुपालन तथा जडीबुटी कृषि फर्मका प्रतिनिधि मनोज बुढा ले आधुनिक प्रविधिसहितको फुजि स्याउ खेतीले डोल्पामा कृषि व्यवसायको नयाँ युग सुरु गरेको बताए ।

उनका अनुसार अब डोल्पा केवल हिमाल र जडीबुटीको जिल्ला मात्र नभई गुणस्तरीय फुजि स्याउ उत्पादन गर्ने जिल्लाका रूपमा पनि चिनिन थालेको छ ।
जगदुल्ला गाउँपालिका–१ हुरिकोटस्थित डाँडामा नयाँ प्रविधिसहितको स्याउ खेती गर्न जग्गा खरिद गरेर ४ रोपनीभन्दा बढी क्षेत्रफलमा फुजि जातको स्याउ खेती सुरु गरेका किसान हेमबहादुर महतारा ले सीमावर्ती जिल्ला जुम्लामा लोभलाग्दो उत्पादन देखेपछि दुई वर्षअघि फुजि स्याउ खेती सुरु गरेको बताए ।

उनले सुरुमा ६ सय बिरुवा लगाएर खेती थालेका थिए । मौसम र हावापानी अनुकूल हुँदा अधिकांश बिरुवा राम्रोसँग हुर्किएको र केही बिरुवाले उत्पादनसमेत दिन थालेपछि आफू थप उत्साहित भएको महताराले बताए ।
पछिल्लो समय ठूलीभेरी नगरपालिका–८ डाँगीवाडा, त्रिपुरासुन्दरी–४ रंग, जगदुल्ला गाउँपालिका–१ हुरिकोट र ५ माझगाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई डोल्पामार्फत ५० प्रतिशत अनुदान सहयोगमा यो खेती विस्तार गरिएको छ ।

यस्तै, मुड्केचुला गाउँपालिका र ठूलीभेरी नगरपालिका–जुफाल क्षेत्रमा समेत केही किसानले आफ्नै लगानीमा फुजि स्याउ खेती सुरु गरेका छन् ।
उत्पादन, बजार र आम्दानीका दृष्टिले किसानहरूका लागि नयाँ सम्भावनाका रूपमा हेरिएको उच्च घनत्वको फुजि स्याउ खेतीमा सरकारी निकायको निरन्तर प्रोत्साहन र किसानहरूको सक्रियता कायम रहे डोल्पा आगामी वर्षहरूमा फुजि स्याउ उत्पादनको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने देखिन्छ ।

यसका लागि राज्यले दीर्घकालीन नीति, प्रभावकारी कार्यक्रम तथा अनुदान सहयोगलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
यसैबीच किसानहरूले सुरु गरेको आधुनिक प्रविधिमा आधारित फुजि स्याउ खेतीको अवस्था, किसानहरूको लगाव तथा राज्यको लगानीको कार्यान्वयन अवस्था बुझ्न जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया को नेतृत्वमा सर्वपक्षीय अनुगमन टोलीले विभिन्न फार्महरूको स्थलगत निरीक्षण गरेको छ ।

सम्बन्धित कार्यालयका प्राविधिक तथा सरोकारवालाको सहभागितामा गरिएको अनुगमनका क्रममा चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा गत आर्थिक वर्षका कृषि अनुदान कार्यक्रमहरूको प्रगति मूल्यांकन गरिएको थियो ।

टोलीले किसानहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आधुनिक स्याउ खेतीको वास्तविक अवस्था, चुनौती र सम्भावनाबारे जानकारी लिएको छ ।

तपाईको प्रतिक्रिया