ताजा समाचार

टाङ्टुङ्गे पाटन जाँदै गरेका १५ जना पक्राउ

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतका विभिन्न यार्सापाटन क्षेत्रमा अवैध रूपमा प्रवेश गरी यार्सागुम्बा संकलन गर्न गएको आरोपमा १५ जनालाई सुरक्षाकर्मी र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको छ।
निकुञ्जका अनुसार कोर क्षेत्र तथा विभिन्न पाटन क्षेत्रमा लुकीछिपी प्रवेश गरी यार्सागुम्बा संकलन गर्न गएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। निकुञ्ज सुरक्षाका लागि खटिएको श्री संग्राम शार्दुल गुल्मअन्तर्गत सुरक्षा पोस्ट तोइजुमबाट खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
संयुक्त टोलीले शुक्रबार बिहान करिब ८ बजे रिखे पुल बाट टाङटुङ्गे पाटनतर्फ जाँदै गरेका ९ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका–३ थापा गाउँकी ४२ वर्षीया रमिला बिक, १३ वर्षीय सर्वन बिक तथा जुम्लाको गुठीचौर गाउँपालिका–१ का ३८ वर्षीया कलौती कामी, ३६ वर्षीय रुपलाल बिक, १६ वर्षीय लालप्रसाद बिक, २० वर्षीय प्रकाश बिक, २० वर्षीया फुलमाया बिक, १५ वर्षीय निराजन बिक र १३ वर्षीय सुनिल बिक रहेका छन्। उनीहरूको साथबाट ९ वटा झोला, ८ वटा कुटी र १० वटा सलाइ बरामद गरिएको जनाइएको छ।
त्यसैगरी सोही दिन साँझ ७ बजे जगदुल्ला गाउँपालिका–१ अन्तर्गत पर्ने फूलबारी पाटन मा अवैध रूपमा प्रवेश गरेका थप ६ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जगदुल्ला–१ हुरीकोटका १५ वर्षीय निशेष रावल तथा जुम्लाको पातारासी गाउँपालिका–५ का १९ वर्षीय प्रवीण बुढा, १७ वर्षीय सन्दीप महतारा, १७ वर्षीय दिनेश बोहोरा, ४६ वर्षीय धर्मदत्त महतारा र २६ वर्षीय वीरबहादुर बुढा रहेका छन्। उनीहरूको साथबाट ६ वटा झोला, ६ वटा कुटी र ६ वटा सलाइ बरामद गरिएको छ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि निकुञ्जका सिनियर गेम स्काउट दानबहादुर बुढालाई बुझाइएको नेपाली सेनाले जनाएको छ।
निकुञ्ज प्रशासनले अनुमति बिना कोर क्षेत्रमा प्रवेश गरी यार्सागुम्बा संकलन गर्नु गैरकानुनी भएको भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी तथा गस्ती थप कडाइ गरिएको जनाएको छ। यस वर्ष जिल्लाका सम्पूर्ण यार्सापाटनहरू जेठ १० गतेदेखि मात्रै औपचारिक रूपमा खुला गरिने निर्णय गरिएको छ।
निकुञ्जले आधिकारिक रूपमा पाटन नखुल्दै चोरीछिपी यार्सागुम्बा संकलनका लागि पाटनतर्फ नजान सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया