ताजा समाचार

डाेल्पामा लागूऔषध सेवन गरी सवारी चलाउने तीन चालक करबगाडबाट पक्राउ


विष्णुप्रसाद देवकोटा
डोल्पा । चार्डपर्व लक्षित सुरक्षा अभियानअन्तर्गत डोल्पामा सवारी चालकको लागूऔषध सेवन परीक्षण गर्दा तीन जना चालक पक्राउ परेका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–५ करवगार्डस्थित भेरी करिडोर सडकखण्डमा असोज १६ गते गरिएको परीक्षणका क्रममा १७ जना सवारी चालकको लागूऔषध सेवन परीक्षण गरिएको थियो। परीक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार तीन जना चालकले लागूऔषध सेवन गरेको देखिएपछि उनीहरूलाई कानुनबमोजिम नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरी र सशस्त्र प्रहरी बल गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद रायसहितको संयुक्त सुरक्षा टोलीले परीक्षण गरेको हो। परीक्षणमा जिल्ला स्वास्थ्य सेवा कार्यालय डोल्पाले प्राविधिक सहयोग गरेको थियो।
पक्राउ पर्नेमा भे १ च २३५० नम्बरको जिप चालक जाजरकोट नलगाड नगरपालिका–१२ का २२ वर्षीय धिरेन्द्र बस्नेत, लु.प्र.०३–००१ च ००६८ नम्बरको जिप चालक बर्दिया बारबर्दिया नगरपालिका–८ का २२ वर्षीय अनोज चौधरी र बा ५४ प ६४६३ नम्बरको मोटरसाइकल चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ त्रिवेणीका २५ वर्षीय नवीन बुढाथोकी रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध सेवनसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया